शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • गुठीको जग्गा संरक्षण गर्न पर्ने नगरपालिका नै जग्गा साटफेरमा, ६ आना जग्गा फिल्डबाट गायब !

    अख्तियारले फाइल मगाएर शुरु गर्यो अनुसन्धान


    हुलाक प्रेस

    • शनिबार, वैशाख १५ २०८१०४:५४
    गुठीको जग्गा संरक्षण गर्न पर्ने नगरपालिका नै जग्गा साटफेरमा, ६ आना जग्गा फिल्डबाट गायब !

    काठमाडौं । सार्वजनिक शैक्षिक गुठीको जग्गा संरक्षण गर्ने दायित्व बोकेको तारकेश्वर नगरपालिका कार्यालयले उल्टो ६ आना जग्गा गायब बनाइदिएको छ । तारकेश्वर नगरपालिका र गुठियारको मिलेमतोमा सार्वजनिक शैक्षिक गुठीको ६ आना जग्गा गायब बनाइएको हो । गुठीको जग्गा गायब भएपछि अख्तियारदेखि सरकारसम्म उजुरीका चाङ परेका छन् ।

    नगरपालिकाको ६ आना जग्गा कसरी अपुग भयो भन्ने विषयमा तारकेश्वर नगरपालिकाको मेयर कृष्णहरि महर्जन र सिर्जना बुर्लाकोटी अर्यालले बताउन सक्ने अबस्था छैन । धनीपुर्जा अनुसार शैक्षिक गुठीको नाममा २६ आना जग्गा छ तर फिल्डमा भने हाल २० आना जग्गा मात्रै रहेको गुठी संचालकहरु बताउँछन् । जग्गा नापजाँच गर्दा ६ आना पुग्दैन ति मध्ये दुई आना बाटोमा परेको छ । ४ आना जग्गा खोइ भनेर नगरपालिकाले पनि जवाफ दिन सकेको छैन । बोरु उल्टो नगरपालिकाको मेयरले प्रमाणित नहुने कुरा भनेर पन्छिने गरेका छन् । 

    नगरपालिका मातहतको न्यायिक समितिले तारकेश्वर नगरपालिका– ८ स्थित ‘दालेकी शैक्षिक सार्वजनिक गुठी’को जग्गा सँधियार नारायण श्रेष्ठको नाममा पास गर्न सिफारिस गर्दा ६ आना जग्गा हराएको हो । गुठीको जग्गा कसरी गायब भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । आयोगले सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको आयोग स्रातले जनायो ।  

    नगर प्रमुख कृष्णहरि महर्जनको रोहवरमा समिति प्रमुख तथा उपमेयर सिर्जना बुर्लाकोटी अर्यालको अध्यक्षतामा ३ फागुनमा बसेको बैठकले शैक्षिक गुठीको जग्गा श्रेष्ठको नाममा नामसारी गर्न सिफारिस गरेको थियो । श्रेष्ठले आफ्नो जग्गा गुठीले मिचेको भन्दै दिएको उजुरीको आधारमा न्यायिक समितिले निर्णय गरेर दुई आना जग्गा गुठीको भागबाट काटेर दिने सहमतिमा शैक्षिक गुठीका अध्यक्ष कामी शेर्पा र दीपक पुनले हस्ताक्षर गरेका छन् । जग्गा गायब भएसँगै नगरपालिकाका मेयर र उपमेयर आफ्नो बचाउका लागि कांग्रेस पार्टीको शीर्ष नेताहरुसँग गुहार मागिरहेका छन् । मेयर र उपमेयरले शक्तिको बलमा नापी र मालपोत कार्यालयलाई पनि जग्गा साटफेर गर्न दबाब दिएको मालपोत कार्यालयका एक कर्मचारीले बताए । 

    नगरपालिकाको सिफारिसपछि श्रेष्ठको नाममा भएको कित्ता नं. १२४४ को व्यक्तिगत जग्गा सरेर कित्ता नं. २७१ र ९९५ मा पुग्यो । जसमध्ये कित्ता नं. २७१ को जग्गा दालेकी गुठीको हो । यो कित्ताको २ आना जग्गा मिचिएर श्रेष्ठको नाममा पुगेको छ । समितिले सट्टापट्टा गर्न आदेश दिएपछि उक्त दुई आना जग्गा श्रेष्ठको नाममा गएको हो । 

    शिक्षा ऐन २०२८, को दफा १६ को उपदफा २ अनुसार शैक्षिक गुठीको स्वामित्वमा रहेको जग्गाको स्वरूप परिवर्तन गर्न पाइँदैन । उक्त दफामा भनिएको छ, ‘शैक्षिक गुठीअन्तर्गत सञ्चालित संस्थागत विद्यालयको सम्पत्ति सोही विद्यालयको नाममा रहनेछ । कुनै विद्यालय सार्वजनिक शैक्षिक गुठीको रूपमा सञ्चालन गरिएकामा त्यस्तो विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ । त्यस्तो सम्पत्तिको स्वरूप परिवर्तन गर्न पाइनेछैन ।’ दालेकी गुठीले उक्त जग्गामा नेपाल रत्न स्कुल चलाउँदै आएको छ । विद्यालयमा अहिले चार सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । गुठीले सबै विद्यार्थीलाई निःशुल्क पढाउँदै आएको छ ।

    विद्यालयको नाममा रहेको जग्गा सट्टापट्टा पनि गर्न नपाइने शिक्षा नियमावली २०५९ मा स्पष्ट छ । सट्टापट्टा गर्नैपर्ने भए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्छ । नियमावलीको नियम १६१ को उपनियम २ मा भनिएको छ, ‘विद्यालयको कमाउन्ड वा खेलमैदानसँग जोडिएको जग्गासँग कुनै जग्गा सट्टापट्टा गर्नुपर्ने भएमा सामुदायिक विद्यालयको भए सम्पत्ति संरक्षण समिति, व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको सिफारिसमा र संस्थागत विद्यालयको भए सम्बन्धित गुठियार वा कम्पनीका सञ्चालक, व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको सिफारिसमा मन्त्रालयको स्वीकृति लिई सट्टापट्टा गर्न सकिनेछ ।’ तर, दालेकी शैक्षिक गुठीको जग्गा सट्टापट्टा गरिँदा न व्यवस्थापन समितिको सिफारिस भएको छ, न सम्बन्धित मन्त्रालयको नै स्वीकृति लिइएको छ । 

    गत ३ फागुनमा सिर्जना बुर्लाकोटी अर्यालको संयोजकत्वमा बनेको तीन सदस्य न्यायिक समितिले गुठीसँगको सँधियार श्रेष्ठको नाममा अपुग भएको जग्गा गुठीले ब्यहोर्नुपर्ने सिफारिसि भएपछि सो विरुद्ध अख्तियारमा उजुरी परेको हो ।

    दालेकी शैक्षिक सार्वजनिक गुठीको मातहत रहेको जग्गा गायब बनाउन भूमिका खेलेको भन्दै तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन, उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, गुठीका तत्काली अध्यक्ष कामी शेर्पा, जग्गाधनी नारायणकुमार श्रेष्ठसहितलाई विपक्षी बनाइ अख्तियारमा उजुरी परेको छ ।

    गुठीको जग्गाको स्वरुप परिवर्तन गर्न र हिनामिना गर्न भूमिका खेलेको भन्दै तत्कालीन अध्यक्ष कामी शेर्पा र दीपक पुनलाई पदीय जिम्मेवारीबाट हटाइएको छ । गुठीका हालका अध्यक्ष दोर्जेनोर्बु शेर्पाले तत्कालीन अध्यक्ष कामी र दीपकले गुठीको जग्गा व्यक्तिका नाममा हस्तान्तरण गर्न भूमिका खेलेको देखिएपछि कारबाही गरिएको बताए । नगरपालिकासँगको मिलेमतोमा दुई जनाले गुठीको जग्गा हिनामिना गर्न भूमिका खेलेको भन्दै कारबाही गरिएको गुठीले जनाएको छ । दोर्जेनोर्बु शेर्पाले दुबै जनालाई पदीय जिम्मेवारीबाट हटाउँदै बोधार्थ अख्तियारमा पठाएका छन् ।

    जग्गा हिनामिनाको विषयमा दालेकी शैक्षिक गुठीका अध्यक्ष कामी शेर्पा आफूले उपमेयर श्रृजना बुर्लाकोटी अर्यालको दबाबमा परेर हस्ताक्षर गरेको बताउँछन् । मलाई उपमेयरले पटक–पटक दबाब र आश्वासन पनि दिनुभयो, मलाई शैक्षिक गुठीको नाममा विद्यालय चलाउनु थियो, त्यसैले ९ कक्षा पठाउने स्वीकृति दिनुहुन्छ होला भनेर मैले सहमति जनाएको हुँ, शेर्पाले भने, सहमति पत्रमा हस्ताक्षर गरेपछि उहाँ टाढिनु भयो । उता अख्तियारमा पनि उजुरी परेछ, अब म कारबाही भोग्न तयार छु, शेर्पाले भने । उपमेयर बुर्लाकोटी भने यो विषयमा कुरा गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । धनीपुर्जाअनुसार गुठीको नाममा कुल २६  आना जग्गा थियो । तर, समितिको सिफारिसपछि अहिले २० आना मात्रै छ । जसमा दुई आना बाटोमा परेको छ ।


    प्रतिक्रिया दिनुहोस