काठमाडौं । ‘बारबरा फाउन्डेसन खोजी पत्रकारिता पुरस्कार, २०२४’ चार पत्रकारलाई प्रदान गरिएको छ ।
पत्रकारद्वय देवेन्द्र भट्टराई र मातृका दाहाललाई नक्कली भुटानी शरणार्थी प्रकरणबारे गरेको खोजमूलक समाचार र त्यसको फलोअप रिर्पोटिङका लागि प्रथम पुरस्कार संयुक्तरूपमा प्रदान गरिएको छ । यस पुरस्कारको राशि १६ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, पत्रकार दीपा दाहाललाई बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणको समाचार लेखेबापत ६ लाख रुपैयाँ राशिको दोस्रो पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी, रमेश कुमारलाई धितोपत्र बजार तथा वित्तीय क्षेत्रका भएका अनियमिताबारे समाचार लेखेबापत तीन लाख रुपैयाँ राशिको तेस्रो पुरस्कार प्रदान गरिएको छ ।
फाउन्डेसनका अध्यष डा. सन्दुक रुइतले खोजमूलक पत्रकारितालाई अघि बढाउन यसपालिदेखि पुरस्कारको राशि बढाएको बताए ।
फाउन्डेसनका कार्यकारी सदस्य अखिलेश उपाध्यायका अनुसार ‘बारबरा फाउन्डेसन खोज–पत्रकारिता पुरस्कार’ का लागि यस वर्ष ८३ वटा आवेदन परेका थिए । निर्णायक समितिले आवेदनकता साथ परेका समाचारहरूको अध्ययन र थप अनुसन्धान गरी शृंखलाबद्ध छलफलबाट प्रथम, द्धितीय र तृतीय पुरस्कारका लागि विजेताहरूको छनोट गरेको उनको भनाइ छ ।