काठमाडौं । देशका केही भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । काठमाडौंका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।
“काठमाडौंमा आज वर्षा हुनेछ । अपराह्नपछि काठमाडौंमा वर्षा सुरु हुनेछ । केही स्थानमा भने बिहानैदेखि वर्षा भइरहेकाे छ,” मौसमविद् राजन अधिरकारीले भने, “वर्षा अपराह्नपछि सुरु भए पनि ठूलो वर्षा भने साँझतिर मात्रै हुनेछ ।”
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
पहाडी भू–भागका थोरै तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।