काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति भएको लिगचरणको अन्तिम खेलमा सिटीले वेस्टह्यामलाई ३-१ ले पराजित गर्दै लगातार चौथो पटक उपाधि जितेको हो ।
इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने सिटी पहिलो टिम बनेको छ । सिटीको जितमा फिल फोडेनले दुई गोल गर्दा रोड्रिले अर्को एक गोल गरेका थिए ।
सिटीले जितसँगै ३८ खेलबाट ९१ अङ्क बनायो भने समान खेलबाट आर्सनल ८९ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । त्यस्तै लिभरपुल ८२ अङ्कका साथ तेस्रो र एस्टन भिल्ला ६८ अङ्कका साथ चौंथो स्थानमा रहेर च्याम्पियन्स लिगका लागि छनोट भए । लिगमा लुटन टाउन, बर्नली र सेफिल्ड युनाइटेड रेलिगेशनमा परे ।
इथाइड स्टेडियममा अन्तिम सिटीबजेसँगै घरेलु समर्थक मैदान प्रवेश गरेर खुसी साँटेका थिए । आफ्ना समर्थकसँग सिटीका खेलाडीहरु समेत मैदानमा लगातार चौंथो उपाधिमा झुमे । प्रशिक्षक पेप ग्वार्डिओलाले लगातार चौंथो संस्करण सिटीलाई च्याम्पियन बनाउँन सफल भएका हुन् ।
अन्तिम खेल सम्म उपाधि होडमा रहेको आर्सनल भने एभर्टनलाई २-१ ले पराजित गरेपनि अङ्क तालिकामा २ अङ्कले पछि रहँदै दोस्रो स्थानमा रहन बाध्य भयो । खेलमा इद्रीसा गुएको गोलमार्फत एभर्टनले ४० औं मिनेटमा अग्रता बनाएको थियो तर जापानी खेलाडी तकिहिरो तोमियासुको गोलमा आर्सनलले ४३ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । आर्सनलका लागि विजयी गोल भने ८९ औं मिनेटमा काइ हावर्टले गरेका थिए ।
उपाधि जित्ने क्रममा सिटी भने सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको थियो । उसले दोस्रो मिनेटमै अग्रता लिएको थियो । बर्नान्डो सिल्भाको पासलाई फिल फोडेनले गोल गर्दै सिटीलाई सुरुवातमै अग्रता दिलाए । लगतै सिटीले १८ औं मिनेटमा फोडेनकै गोलमा अग्रता दोब्बर बनायो । डोकुको पासलाई फोडेनले ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए । तर पहिलो हाफमै वेस्टह्यामले एक गोल फर्कायो । उसका लागि मोहम्मद कुडुसले ४२ औं मिनेटमा दोस्रो गोल फर्काएका थिए ।
तर दोस्रो हाफमा सिटीले पुन अग्रता बढायो । ५९ औ मिनेटमा सिटीका लागि बर्नान्डो सिल्भाको पासलाई रोड्रीले गोल गर्दा सिटीले ३-१ को अग्रता बनायो । जुन अग्रता कायम राख्दा सिटी च्याम्पियन बन्यो ।