काठमाडौं । आर्थिक लाभ लिएर नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नुवाकोटको ककनी गाउँपालिका–५ की २९ वर्षीया रश्मी लामालाई पक्राउ गरेको हो ।
ब्युरोका अनुसार परिवर्तित नाम '२६ बबरमहल–३०१' जाहेरीमा उनलाई पक्राउ गरिएको हो ।
सुरुमा रश्मीले बबरमहल–३०१ लाई राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभन देखाएको ब्युरोले जनाएको छ । त्यसपछि उनले 'दिदीको खाजा घर'मा काममा लगाइदिएकी थिइन् । खाजा घर सञ्चालकले खाजा खान आउने र सम्पर्कमा आएका व्यक्तिहरूसँग डिल गरी विभिन्न होटल तथा गेस्ट हाउसमा वेश्यावृत्तिको लागि पठाउन गरेको खुलेको छ ।
पीडितको इच्छाविपरीत ग्राहकहरूसँग शारीरिक सम्बन्ध राख्न बाध्य बनाइराखेको अवस्थामा ब्युरोबाट खटिएको प्रहरी टोलीले बबरमहल–३०१ लाई उछार गरेको थियो । त्यस क्रममा ब्युरोले रश्मीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।