शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • फुन्जो लामाले १४ घण्टामा सगरमाथा आरोहण गरेर राखिन् नयाँ कीर्तिमान


    हुलाक प्रेस

    • बिहीबार , जेठ १० २०८११०:३८
    फुन्जो लामाले १४ घण्टामा सगरमाथा आरोहण गरेर राखिन् नयाँ कीर्तिमान

    काठमाडौं । नेपाली महिला आरोही फुन्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छन् । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुन्जोले आज बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाएकी हुन् । 

    सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३:५२ मा आधार शिविरबाट आरोहण सुरु गरेर फुन्जोले आज बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् ।

    उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेकी हुन् । यसअघि सन् २०१८ मा फुन्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन् । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको रेकर्ड फुन्जोले तोडेकी हुन् ।

    दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गरेका छन् ।

    विसं २०४३ मा गोरखाको छेकाम्बर बुर्जी गाउँ (चुम भ्याली) मा सामान्य परिवारमा जन्मेकी फुन्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल आरोहण गरेर आरोहण यात्रा प्रारम्भ गरेकी फुन्जोले चोयु, अमाडब्लम, लापुछे, मनास्लुजस्ता हिमाल चढिसकेकी छन् । उनले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसकेकी छन् ।

    सगरमाथा आरोही सङ्घका महासचिव नेपाल पर्वतारोहण सङ्घका सचिव शिवबहादुर सापकोटाका अनुसार आरोही फुन्जोले २४ घण्टा २४ मिनेटमा सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म र सगरमाथाको चुचुरोबाट आधार शिविरसम्म आरोहण सकेर नयाँ कीर्तिमान बनाएकी छन् ।

    उनले नेपाली चेलीको साहसिक कार्यले संसारभर नेपालको साहसिक पर्यटन प्रवर्धनमा सन्देश दिनुका साथै विश्वशान्ति, जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धमा लाग्ने आरोहीको प्रोत्साहनमा पनि भूमिका खेलेको बताए ।

    फुन्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुन्डिएर उद्धार गर्ने काम गर्दै आएकी छन् । उनले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुन्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर उद्धार कार्य गर्दै आएकी छन् ।  पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुन्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसकेकी छन् । रासस


    प्रतिक्रिया दिनुहोस