काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि आज बजेट प्रस्तुत गर्दैछ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने कायक्रम छ ।
अर्थमन्त्री वर्षमान पुनले पपुलिस्ट कार्यक्रम समेट्दै आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् । अर्थमन्त्री पुनले राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सीमाभन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेका हुन् ।
आयोगले आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको हुनु पर्ने सीमा निर्धारण गरे पनि अर्थ मन्त्रालयले खुद्रे कार्यक्रम समेट्दै १९ खर्ब रुपैयाँभन्दा ठूलो आकारको बजेट तयार गरेको छ ।
राजस्व, वैदेशिक सहायता र आन्तरिक ऋण परिचालनको आँकलनको आधारमा संघ, प्रदेश र स्थानीय तहमा प्राप्त हुन सक्ने कुल राष्ट्रिय स्रोत अनुमान र खर्चको आवश्यकताबीच सन्तुलन मिलाउने जिम्मेवारी पाएको स्रोत अनुमान समितिले कुनै ठोस अध्ययन नगरी प्रधानमन्त्रीको निर्देशनमा उनको चाहना पूरा गर्न बजेटको सीमा बढाउने गरी निर्णय गर्न लागेको हो ।