काठमाडौं । सरकारले आफ्नै आम्दानी भएका तथा पारिवारिक संरक्षणमा रहेका ज्येष्ठ नागरिक र एकल महिलाको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने तयारी गरेको छ ।
यस्ता व्यक्तिलाई सरकारले भत्ता दिनु सामाजिक न्यायका दृष्टिले जायज नदेखिएको भन्दै आगामी आर्थिक वर्षको बजेटमार्फत् यो व्यवस्था खारेज गर्न लागिएको हो । अर्थमन्त्री वर्षमान पुन यो विषयमा सहमत भइसकेको अर्थमन्त्रालय स्रोतले बतायो । विगत केही वर्षदेखि सामाजिक सुरक्षा भत्ताको विषयमा कुरा उठिरहेको छ ।
यस्तै दोहोरो तथा तेहोरोपन भएका सामाजिक सुरक्षाका कार्यक्रमलाई पनि पुनरावलोकन गर्ने सरकारको तयारी छ । अर्थ मन्त्रालय स्रोतका अनुसार बेलाबेला राजस्वको स्रोतमाथि दबाब पर्दा सामाजिक सुरक्षा भत्ताको औचित्यताबारे प्रश्न उठ्ने गरेको छ ।
हाल ६८ वर्ष पुरा गरेका ज्येष्ठ नागरिक र ६० वर्ष नाघेका एकल महिलालाई सरकारले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । अहिले ज्येष्ठ नागरिकका लागि सरकारले ४ हजार रुपैयाँ र एकल महिलाका लागि २ हजार ६ सय ६० रुपैयाँ दिँदै आएको छ ।