काठमाडौं । देशका केही स्थानमा आज पनि वर्षा हुनेछ । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोसी प्रदेशका एकदुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
काठमाडौंमा आज अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म हुने पूर्वानुमान छ । हिजो ३४.४ डिग्री सेल्सियस पुगेको थियो । नेपालमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।