काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ ।
आइतबार देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल)को सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले बताए ।
हाल देशमा स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुका कारण काठमाडौंसहित शनिबार देशका विभिन्न स्थानमा वर्षा भएको उनले बताए ।
आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । काठमाडौंमा पनि हल्कादेखि मध्यम वर्षाकै सम्भावना रहेको उनले बताए । “काठमाडौंमा भोलि बिहानपख पनि पानी पर्ने सम्भावना छ,” उनले भने, “तर, दिउँसो वर्षाको सम्भावना बढी छ ।”