काठमाडौं । यसवर्षको भारतको लोकसभा निर्वाचनको नतिजा थुप्रैका लागि आश्चर्यजनक रह्यो । खासगरी एक्जिट पोलपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहज जित हात पार्ने आकलन गरिँदै आएको थियो ।
तर, भाजपाले संसदमा एकल बहुमत गुमाउने भएको छ । त्यसभन्दा आश्चर्यजनक नतिजा भाजपाले आफ्नै गढमा बेहोर्नुपरेको छ ।
लोकसभाका ५४३ मध्ये सबैभन्दा बढी ८० सिट रहेको उत्तर प्रदेशमा भाजपालाई धक्का लागेको हो । जहाँ अघिल्ला दुई चुनावमा भाजपाले लगभग एकलौटी जित निकालेको थियो ।
२०१४ मा उत्तर प्रदेशमा भाजपाले ७१ सिट जितेको थियो भने २०१९ मा ६२ सिट । तर, यसपटक सो पार्टी मात्र ३५ सिटमा अगाडि छ। विपक्षी इन्डिया गठबन्धन ४४ सिटमा अगाडि देखिएको छ ।
हिन्दुत्वको नारा उचालिरहेको भाजपाविरुद्ध मुस्लिम मत एकत्रित भएको धेरैजसोको अनुमान छ । यहाँ कंग्रेस र समाजवादी पार्टी मिलेर चुनाव लडेका थिए । अर्थात्, राहुल गान्धी र अखिलेश यादवको जोडी सफल भएको छ ।
एक्लै चुनाव लडेकी मायावतीको बसपा भने सबै सिटमा पछाडि परेको छ । उत्तर प्रदेशबाहेक भाजपाले पश्चिम बंगालमा पनि शक्ति गुमाएको छ । अघिल्लो पालि १८ सिट जितेको भाजपा १० सिटमा झरेको छ ।
महाराष्ट्रमा पनि भाजपाले सिट गुमाएको छ। अघिल्लो पालि २३ सिट जितेको भाजपा यसपालि १४ सिटमा मात्र अगाडि छ ।
यहाँ भाजपा नेतृत्वको एनडीए गठबन्धन १९ सिटमा अगाडि रहँदा विपक्षी इन्डिया गठबन्धन २८ सिटमा अगाडि छ ।
हरियाणामा पनि भाजपाले सिट गुमाउँदा पञ्जाबमा खातै खोल्न सकेको छैन । यद्यपि भाजपाले उडिसा, कर्नाटक, आन्ध्र प्रदेश र केही हदसम्म तेलंगनामा सिट बढाएको छ ।