काठमाडौं । काठमाडौंको चाबहिलमा ५५ वर्षीय चन्चलबहादुर सिंहले पेट्रोल छर्किएर घरमा आगो लगाउँदा उनीसहित श्रीमती र तीन छोरीहरु घाइते भएका छन् ।
मंगलबार राती अत्याधिक मापसे गरी सिँहले श्रीमतीसँग झगडा गरि कोठामा पेट्रोल छर्किएर आगो लगाउँदा उनीसहित, ४४ वर्षीया श्रीमती बिन्दु सिंह, जेठी छोरी २४ वर्षीया सुप्रिया, माइली छोरी १६ वर्षीया समृद्धि र ८ वर्षीया कान्छी छोरी सुहानी घाइते भएको प्रहरीले जनाएको छ ।
सरस्वतीनगर गोपिकृष्ण चलचित्र हलनजिकै घरमा आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक रामबाबु कुवाहको कमाण्डमा प्रहरीको टोली खटिएको थियो ।
घाइते सबैलाई उपचारको लागि हेल्पिङ ह्याण्ड्स अस्पताल लगिएको र पछि कीर्तिपुर बर्न अस्पतालमा पठाइएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार सुप्रियाको अन्दाजी ५० प्रतिशत र समृद्धिको ८० प्रतिशत छाला जलेको छ । आगो लगाउने चन्चलबहादुर, आठ वर्षीया छोरी सुवानी र श्रीमती विन्दुको अवस्था भने सामान्य छ । २४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।