काठमाडौं । मनसुनी प्रणाली कोसी प्रदेशबाट अगाडि बढेको छैन । सोमबार नेपाल भित्रिएको मनसुन मंगलबार बिहानसम्म पनि कोसी प्रदेशमै छ ।
कोसी प्रदेशमा भने मनसुनी प्रणालीका कारण वर्षा भएको छ । संखुवासभामा २४ मिलिमिटर वर्षा भएको छ । यो प्रदेशका अन्य केही भू–भागमा पनि वर्षा भएको छ ।
मनसुनी प्रणाली देशभर फैलिने औसत समय पाँच दिन हो । तर, हावाको गतिका आधारमा पाँच दिनभन्दा ढिलो वा चाँडो पनि फैलिन सक्छ ।
मनसुन देशभर फैलिन केही समय लाग्दा यसको प्रभाव तापक्रममा पर्नेछ । आज पनि मध्य र पश्चिम तराईका धेरै स्थानमा तापक्रम उच्च हुनेछ ।
काठमाडौंमा पनि आज तापक्रम उच्च रहनेछ । अधिकारीका अनुसार काठमाडौंको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियसको आसपासमा रहनेछ ।