सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद मिनाहा बदर गर्ने निर्णय गरेको छ ।
बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको सरकारले गरेको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्दै तत्काल पक्राउ गर्न आदेश दिएको हो ।
संविधान दिवसको दिनको अवसरमा सरकारले जन्मकैद सजाय भोगिरहेका रिगल भनिने ढकालले ४० प्रतिशत कैद भुक्तान गरिरहेका र असल चालचलन भएको भन्दै कैद मिनाहको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
भारती १७ असोजदेखि अनशन समेत बसेकी थिइन् ।
२०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा २०७६ वैशाखमा दोषी ठहर भइ जिल्ला अदालत बाँकेले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
रिगलले ४ वर्ष जेल जीवन बिताएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद मिनाहा गरेको थियो ।
आजको सर्वोच्चको फैसलाले अब रिगलले पुरै कैद सजाय भोग्नुपर्नेछ ।