काठमाडौं । देशभर क्रमिकरूपमा मनसुन सक्रिय हुन थालेपछि तापक्रम घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम घटेको छ ।
काठमाडौंमा भने मंगलबारको तुलनामा तापक्रम केही बढेको छ । मंगलबार काठमाडौंको तापक्रम २९.२ डिग्री सेल्सियस मापन गरिएकोमा आज ३०.६ डिग्री सेल्सियस पुगेको छ । पश्चिम नेपालका तराईका जिल्लाहरूको तापक्रम भने अझै उच्च छ । तर, तुलनात्मकरूपमा तापक्रम घटेको तथ्यांकले देखाउँछ ।
धनगढीमा मंगलबार ४३.१ डिग्री सेल्सियस मापन गरिएको तापक्रम आज ४२.३ डिग्री सेल्सियसमा झरेको छ । जुन आज मापन गरिएको तापक्रममध्ये देशकै उच्च हो ।
नेपालगन्जमा मंगलबार मापन गरिएको ४३.६ डिग्री सेल्सियस तापक्रमबाट ४१.५ डिग्री सेल्सियसमा झरेको छ । दिपायलमा मंगलबार ४२.४ डिग्री सेल्सियस मापन गरिएकोमा आज ४०.२ डिग्री सेल्सियसमा झरेको छ ।
वीरेन्द्रनगरमा ४०.९ डिग्री सेल्सियसबाट ४०.१ डिग्री सेल्सियसमा झरेको छ । घोराहीमा ३९.५ डिग्री सेल्सियसबाट ३८.४ डिग्री सेल्सियसमा झरेको छ ।
मंगलबार जनकपुरमा ३३.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएकोमा आज ३१.४ डिग्री सेल्सियसमा झरेको छ । जुम्लामा मंगलबार ३१.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । आज त्यहाँ २९.८ डिग्री सेल्सियसमा झरेको छ ।
ताप्लेजुङमा भने मंगलबार २०.२ डिग्री सेल्सियस मापन गरिएकोमा आज २२.५ डिग्री सेल्सियस पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।