काठमाडौं । अष्ट्रेलिया सरकारले विदेशी आप्रवासीका लागि आफ्नो नीतिमा कडा बनाउँदै जान थालेको छ । अष्ट्रेलिया सरकारले पढाइ सकेपछि अस्थाई अनुमति पत्र लिएका विद्यार्थीहरुले पुनः विद्यार्थी भिसा नपाउने नियम बनाएको छ ।
यसअघि विद्यार्थी भिषा सकिएपछि पनि विदेशीहरुले भिषाको स्टाटस परिवर्तन गरेर अस्ट्रेलियामा विभिन्न काम गर्दै बस्दै आइरहेका थिए । अब भने विद्यार्थी भिसा सकिएपछि आफ्नै देश फिर्ता पठाउने नीति लिएको छ ।
यसको साथै अब कलाकार तथा पर्यटन भिषामा आउनेहरुले पनि विद्यार्थी भिषामा आफ्नो स्टाटस परिवर्तन गर्न नपाउने भएका छन् । अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी छिन् ।
ओनिलले आज थप नियमको घोषणा गर्दै यी दुई भिसा क्याटोगेरी (सब–क्लास ६०० र ४८५) मा रहेकाले समेत अष्ट्रेलियाबाट विद्यार्थी भिषाको आवेदन दिन नपाउने बताएकी हुन् । पढाई सकेपछि विद्यार्थीहरुले सिपमूलक काम खोजेर पीआर लिनुपर्ने र अन्यथा स्वदेश फर्कनुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीहरुले स्वदेश फर्किएर विद्यार्थी भिषा आवेदन गर्न भने पाउनेछन् ।
तर अष्ट्रेलियामा एकपटक ग्राजुएट भएका विद्यार्थीले स्वदेश फर्केर पुनः विद्यार्थी भिषा पाउने सम्भावना भने कमै हुन्छ ।