काठमाडौं । जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले हुलाकप्रेसलाई बताए । यसअघि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बम्जनलाई दोषी ठहर गरेको थियो र सजाय निर्धारणका लागि सोमबारका लागि पेशी तोकिएको थियो ।
यसअघि दोषी ठहर भएका बमजनको हकमा सोमबार सजाय निर्धारण बहस भएको थियो । बहसमा सरकारले जन्मकैद २० वर्ष सजाय हुनुपर्ने माग गरेका थिए । तर अदालतले आधामात्र १० वर्ष कैदको फैसला सुनाएको हो । अब उक्त फैसलाविरुद्ध सरकार र बमजन दुवैलाई उच्च अदालत जाने बाटो बाँकी नै छ ।
बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेपनि २०८० सालमा मात्रै उनी पक्राउ परेका थिए । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ । उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ । सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी थियो ।