काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रको शुद्धीकरण र समस्या समाधानका लागि राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग लिखित सुझाव माग्ने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेका समितिको बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि राजनीतिक दलहरूको सुझाव महत्त्वपूर्ण हुने र सोही अनुसार सुझाव माग्ने निर्णय गरेको हो ।
समितिले प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त दललाई सुझावका लागि पत्रचार गर्ने निर्णय गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।
त्यस्तै, बैठकमा राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी र कर्मचारीसँग सहकारीसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको उनले बताए ।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।