बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बेलायतमा लेबर पार्टीको फराकिलो जित, किअर स्टार्मर नयाँ प्रधानमन्त्री बन्दै


    हुलाक प्रेस

    • शुक्रबार, असार २१ २०८१०१:२०
    बेलायतमा लेबर पार्टीको फराकिलो जित, किअर स्टार्मर नयाँ प्रधानमन्त्री बन्दै

    काठमाडौं । यूकेमा भएको संसदीय निर्वाचनमा किअर स्टार्मरको लेबर पार्टीले अध्यधिक बहुमत पाएको छ। अब स्टार्मर यूकेको नयाँ प्रधानमन्त्री बन्ने ठानिएको छ।

    स्टार्मरले "अब परिवर्तन सुरु हुन्छ" भनेका छन्। निर्वाचनमा लेबर पार्टीको विजय स्वीकार गर्दै प्रधानमन्त्री तथा कन्जर्भेटिभ नेता ऋषि सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गरेका छन्।

    विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको यूकेमा यसपालि लेबर पार्टीले ६५० मध्ये ४०० भन्दा बढी सीट जितेको हो। यूकेको संसद्‌मा बहुमतका लागि ३२६ सीट आवश्यक पर्छ।

    यसपालि हाउस अफ कमन्समा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक हो। अहिलेसम्म २४० भन्दा बढी महिला उम्मेदवार सांसद निर्वाचित भइसकेका छन्। सन् २०१९ को निर्वाचनमा २२० महिला सांसद थिए। बीबीसीको प्रक्षेपणमा यसपालि ६० प्रतिशतजति मात्रै मत खसेको देखिएको छ।

    त्यसमध्ये लेबर पार्टीले ३५ प्रतिशतजति, प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले २४ प्रतिशतजति अनि रिफर्म यूके पार्टीले १५ प्रतिशतजति मत पाएको देखिन्छ।

    अहिलेसम्मको निर्वाचनमा यसपालि कन्जर्भेटिभ पार्टीले पाएको मत सबैभन्दा कम हो। बिहीवार भएको मतदानमा ‘एक्जिट पोल’ भनिने सर्वेक्षणहरूले स्टार्मरको लेबर पार्टीले फराकिलो जित हात पार्ने देखाएका थिए।

    एक्जिट पोल वास्तविक नतिजा नभए पनि विगतका निर्वाचनहरूमा यस्ता सर्वेक्षणहरूको प्रक्षेपण मिलेको देखिन्छ। बीबीसी


    प्रतिक्रिया दिनुहोस