काठमाडौं । गए रातीदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा काठमाडौंको नागार्जुन नगरपालिका-३ सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको छ ।
शनिबार विहान सवा ११ बजे स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका-६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
वर्षाका कारण काठमाडौंको जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकाको धेरैजसो खोलाको जलसतह बढेको छ ।
मध्यपुर थिमी नगरपालिका-२ दिव्येश्वरी प्लानिङ नजिक १८ वटा टहरा मनोहरा खोलाले डुबाएको छ । विभिन्न जिल्लाबाट आई ज्याला मजदुरी गरी बसेका ५६ जना बस्ने टहराहरु खोलाले डुवाएका कारण उनीहरु आफन्तकोमा शरण लिन पुगेका प्रहरीले जनाएको छ ।
मध्यपुर थिमी नगरपालिका-३ कौशलटार नजिक हनुमन्ते खोलामा आएको बाढीले आश्विन आचार्यको जस्ताको टहरा डुबाएको छ । चागुनारायण नगरपालिका-४ नयाँ खोरिया स्थितमा रहेको डिप बोरिङ र पानी पाले बस्ने १ तल्ले पक्की घर पहिरोको जोखिममा परेको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका जितपुर फेदी र दक्षिणकाली नगरपालिका छैमलेमा एक एक वटा घर भत्किएको छ । काठमाडौं महानगरपालिका घट्टेकुलोमा भित्री सडक भासिएको छ ।