बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • महशुल बक्यौता विवादमा प्राधिकरणले काट्यो तीन उद्योगको लाइन


    हुलाक प्रेस

    • बुधबार, असार २६ २०८१०९:०१
    महशुल बक्यौता विवादमा प्राधिकरणले काट्यो तीन उद्योगको लाइन

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत महशुल बक्यौता विवादमा फेरि तीनवटा उद्योगको बिजुली काटेको छ । 

    डेडिकेटेड र ट्रंकलाइनबाट वर्षौँअघि उपभोग गरेको बिजुलीको बक्यौता भुक्तानी नगरेको भन्दै प्राधिकरणले रिलायन्स स्पिनिङ, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिदिएको हो ।

    यसअघि यही असार १० मा उद्योगहरुलाई पत्र काट्दै प्राधिकरणले बक्यौता महशुल तिर्न ताकेता गरेको थियो । उक्त अवधिमा पनि बक्यौता नतिरेको भन्दै प्राधिकरणले विद्युत् लाइन काटिदिएको हो ।

    प्राधिकरणले पत्रमार्फत उद्योगहरुलाई २०७२ माघदेखि ०७५ वैशाखसम्मको डेडिकेटेड तथा ट्रंकलाइनको महशुल दर थप दस्तुरसहित १५ दिनभित्र पठाउन भनेको थियो ।

    उसले तोकिएको अवधिमा महशुल नबुझाए कानुनअनुसार कारबाही हुने चेतावनी दिएको थियो । प्राधिकरणले अर्घाखाँची सिमेन्टलाई पठाएको ताकेतापत्रअनुसार उद्योगले ४४ करोड ८६ लाख ८ हजार ५ सय ६६ रुपैयाँ तिर्न २५ गतेसम्मको समय पाएको थियो। तर उद्योगले नतिरेपछि बिजुली नै काटिएको छ ।

    यसअघि पनि ३३ वटा उद्योगहरुको बिजुली काटेको प्राधिकरणले ०८० पुसमा अधिकांशको लाइन जोडिदिएको थियो । उद्योगी र प्राधिकरणबीच डेडिकेटेड र ट्रंकलाइनको महशुल विवाद पछिल्लो समय सतहमा छ ।

    प्राधिकरणका अनुसार उद्योगहरूबाट २०७२ माघअघिको ९७ करोड रुपैयाँ प्रिमियम महसुल लिन बाँकी छ । २०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब र त्यसयताको ८ अर्ब प्रिमियम शुल्क लिन बाँकी छ । यसबाहेक २५ प्रतिशत जरिवाना र १५ प्रतिशत ब्याजसमेत गर्दा अहिले ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विद्युत् प्राधिकरणले बताउँदै आएको छ ।


    प्रतिक्रिया दिनुहोस