शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते


    हुलाक प्रेस

    • बुधबार, असार २६ २०८१०१:५८
    बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते
    फाइल तस्वीर

    काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ ।

    प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ ।
          
    केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर एक सय ६ जना घाइते भएका छन् । हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उहाँले राससलाई जानकारी दिनुभयो । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् । 

    उक्त समयमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायाको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ ।

    मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    देशभर दुई हजार नौ सय ५४ परिवार विस्थापित भएका छन् । उक्त घटनामा रु १० करोड ७० लाख ४० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #death
  • # #badi
  • प्रतिक्रिया दिनुहोस