काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका बेला राष्ट्रपति रामचन्द्र पौडेलले उच्चारण गरेको ‘ईश्वरको’ भन्ने शब्द उच्चारण गरेनन् ।
सोमबार ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई शपथ गराउँदा राष्ट्रपति पौडेलले ‘ईश्वर/देश र जनता’को नाममा शपथ गराएका थिए । तर ओलीले ‘ईश्वरको नाम उच्चारण गरेनन् । देश र जनताको शब्दमात्रै उच्चारण गरे ।
शपथ सम्बन्धी ऐन २०७९ मा भएको व्यवस्था अनुसार ओलीले देश र जनताको भन्ने शब्दमात्रै उच्चारण गरेका थिए । तर उनै ओली सोमबार प्रधानमन्त्री कार्यालय प्रवेश गर्दा भने स्वस्तिवाचन गराइएको थियो । शपथलगत्तै पार्टी कार्यालय र सहिद स्मारक लैनचौर पुगेपछि ओली प्रधानमन्त्री कार्यालय पुगेका थिए । उनलाई त्यहाँ प्रधानमन्त्री कार्यालयका कर्मचारीले स्वस्तिवाचनसहित फूलमालाले स्वागत गरेका थिए ।