शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • मनसुनजन्य विपद्का घटनामा परी मृत्यु हुनेको संख्या १२० पुग्यो


    हुलाक प्रेस

    • मंगलबार, साउन १ २०८१०६:४९
    मनसुनजन्य विपद्का घटनामा परी  मृत्यु हुनेको संख्या १२० पुग्यो

    काठमाडौं । मनसुनजन्य विपद्का घटनामा परी मृत्यु हुनेको संख्या १२० पुगेको छ । यो संख्या नेपालमा मनसुन सुरु भएदेखि मंगलबार दिउँसोसम्मको हो ।

    यसवर्ष गत जेठ २८ गते मनसुन सुरु भएको थियो । मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण बाढी, पहिरो लगायतका विपद्का घटनामा १२० जनाको मृत्यु भएको हो ।

    नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोसी प्रदेशमा २२ जना, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिममा आठजनाको मृत्यु भएको छ ।

    विपद्का घटनामा परी काठमाडौं उपत्यकामा आठजना, कोसी प्रदेशमा ३४ जना, मधेसमा ९ जना, वाग्मतीमा सातजना घाइते छन् । त्यस्तै, गण्डकीमा २८, लुम्बिनीमा ९, कर्णालीमा २९ र सुदूरपश्चिममा ११ गरी १३५ जना घाइते भएका छन् ।

    कोसीमा ४१ र गण्डकीमा १२ जना गरी कुल ५३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । पहिरोमा परी कोसीमा दुईजना, मधेसमा एक, वाग्मतीमा दुई तथा गण्डकी, कर्णाली र सुदूरपश्चिममा एक–एक गरी आठजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । 

    बाढीको कारण हालसम्म १८२ घर डुबानमा परेको जानकारी प्रहरीले दिएको छ । मनसुनजन्य विपद्का घटनाले २१३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ६५२ घर परिवार विस्थापित भएका छन् ।


    प्रतिक्रिया दिनुहोस