शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सुनिल पौडेलविरुद्ध अर्को मुद्दा दर्ता, सिंगापुरको बैंकमा पैसा राखेको खुलासा


    हुलाक प्रेस

    • बुधबार, साउन २ २०८१०५:४३
    सुनिल पौडेलविरुद्ध अर्को मुद्दा दर्ता, सिंगापुरको बैंकमा पैसा राखेको खुलासा

    काठमाडौं । राजस्व अनुसन्धान विभागले सुनील पौडेलविरुद्ध अवैध विदेशी विनिमयसम्बन्धी अभियोगमा मुद्दा दायर गरेको छ । विभागले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक एवम् नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेलविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

    पौडेलले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १६ विपरीत विदेशी बैंकमा पैसा राखेको पाइएको छ । उनले सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा ५८ हजार अमेरिकी डलर राखेको विषयमा विभागले अनुसन्धान थालेको थियो ।

    अनुसन्धानपछि विभागले पौडेलविरुद्ध उक्त रकमको कानुनानुसार तीन गुणा बढी अर्थात् दुई करोड ३२ लाख ३७ हजार ७०० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो । पौडेलविरुद्ध मुद्दा दायर गरिएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

    यसअघि, नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको अभियोगमा गत वर्षको असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गएको वैशाखमा विशेष अदालतले उनलाई नौ वर्ष जेल र २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानासहितको सजाय सुनाएको थियो । अरू आठ आरोपितले सफाइ पाएका थिए ।

    सूचना प्रविधि केन्द्रकै कार्यकारी निर्देशक रहेका बेला गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध वैशाख ९ गते अर्को मुद्दा दायर गरेको थियो ।

    उनले सूचना प्रविधि केन्द्रमा रहँदा वैध रूपमा एक करोड १९ लाख २४ हजार ८४६ रुपैयाँ ४७ पैसा आर्जन गरेको तर त्यही अवधिमा २४ करोड ९४ लाख ७१ हजार १७१ रुपैयाँ चार पैसा खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानमा देखिएको थियो ।


    प्रतिक्रिया दिनुहोस