काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज दाबी पेस गर्ने भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा नेता लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।
प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई यही साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका छन् । “दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ,” लामाले भने ।