बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

    बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त


    हुलाक प्रेस

    • मंगलबार, साउन ८ २०८१०६:०१
    बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

    काठमाडौं । नेपाली कांग्रेसका नेता बहादुर सिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

    नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका लामालाई मंगलबार साँझ प्रदेश प्रमुख यादव शर्माले नियुक्ति गरे ।

    ८ कात्तिक २०२७ मा नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा जन्मिएका उनी तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । बागमतीमा नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गर्ने पनि उनी पहिलो हुन् ।

    को हुन् नवनियुक्त मुख्यमन्त्री लामा ?

    कांग्रेसको भ्रातृ संगठन नेविसंघको राजनीति गर्दै पार्टी राजनीतिमा होमिएका बहादुर सिंह लामा हाल कांग्रेस केन्द्रीय समिति सदस्यको भूमिकामा छन् । स्व. दीप बहादुर लामा तामाङ र आमा स्व. पूर्णिमाया लामा तामाङको पुत्र लामा २०२७ कात्तिक ८ गते नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मनकामनामा जन्मेका हुन् ।

    सामान्य परिवारमा जन्मिएका लामा सानै उमेरदेखि अब्बल र हक्की स्वभावका थिए । लामाले गाउँकै स्कुलबाट आधारभूत तहको शिक्षा हासिल गरे भने माध्यमिक तह अध्ययन नुवाकोटको सदरमुकाम विदुरबाट पूरा गरे । यस्तै उनले काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातकसम्मको उच्चशिक्षाको अध्ययन पूरा गरेका छन् ।

    उनले २०४३ मा नेविसंघको सदस्यता लिएका थिए भने शंकरदेव क्याम्पस इकाई सदस्य पनि भए । २०४५ सालमा नेविसंघ नुवाकोटको क्षेत्रीय सभापति भएका उनी पछि कांग्रेस नुवाकोटको जिल्ला उपसभापति भए ।

    २०५४ को स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना  गा.वि.स अध्यक्षमा निर्वाचित भएका लामा पार्टीको १३ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य भएका थिए । यस्तै १४ औँ महाधिवेशनमा पनि उनले केन्द्रीय सदस्यमा निरन्तरता पाए । 

    २०६४ सालमा नुवाकोट क्षेत्र नम्बर–३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा पराजित भएका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । सो निर्वाचनमा उनले नेकपा माओवादी केन्द्रका तत्कालीन महासचिव पोस्टबहादुर बोगटीलाई भारी मतले हराएका थिए । 

    २०७४ मा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामा २०७९ मा भने बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । बागमतीको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका उनी अहिले मुख्यमन्त्री बन्न सफल बनेका हुन् ।  लामा देशकै पहिलो तामाङ समुदायका मुख्यमन्त्री हुन् ।  उनी निर्माण व्यवसायीका रूपमा समेत चिनिन्छन् । 


    प्रतिक्रिया दिनुहोस