बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सन्दीपको मुद्दामा बहस नोट मगाउने आदेश


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक २३ २०८००६:४८
    सन्दीपको मुद्दामा बहस नोट मगाउने आदेश

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामा जिल्ला अदालत काठमाडौंले बहस नोट मगाउने आदेश गरेको छ। न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकार, निवेदक र अन्यसँग बहस नोट माग गर्ने आदेश गरेको हो।

    लामो समयदेखि सन्दीपको मुद्दा एकपछि अर्को इजलासले सुनुवाइ गर्नेभन्दा पन्छाउने हुँदै आएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरुद्ध गत २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। 

    १८ वर्षभन्दा कम उमेरकी (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। 

    उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। 

    सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो। १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्। 

    पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याइ एक होटलमा राखेर बलात्कार गरेको बताएकी थिइन्।

    पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी अभियोगपत्रमा गरिएको छ। 

    सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको बयान छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराएको थियो। 


    प्रतिक्रिया दिनुहोस