बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • किर्ते कागज बनाएर जग्गा बिक्रि गर्ने भारतीय नागरिक मेहराविरुद्ध विशेष अदालतमा मुद्दा दायर


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक २३ २०८००७:११
    किर्ते कागज बनाएर जग्गा बिक्रि गर्ने भारतीय नागरिक मेहराविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौँ । किर्ते कागजात बनाएर बिक्री गरिएको जग्गा प्रकरणमा भारतीय नागरिक अनुप मेहरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको छ । विशेष अदालत काठमाडौँमा विचाराधीन रहेको मुद्दामा मेहरा फरार थिए ।

    गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको मुद्दामा जग्गा बिक्रीकर्ता मेहरा रहेको आयोगको छानबिनबाट देखिएको थियो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार यसअघि मुद्दा दर्ता गरिएका मालपोत र भूमिसुधार कार्यालयका कर्मचारीलाई गरिएको सजाय सरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुरमा सजाय मागदावी गरिएको छ ।

    भारतीय नागरिक मेहराले हदबन्दीबाट नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरू भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा कानुन विपरीत तीन परिवार सङ्ख्या कायम गरी गैर–कानुनी निर्णय गर्न लगाएका थिए ।

    मेहरालाई सहयोग गर्ने नवलपरासीस्थित मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृतसमेतलाई यसअघि नै आयोगले विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मेहराको नामबाट बिक्री वितरण भएको जग्गाको लिखत मूल्य पाँच करोड पाँच लाख ४२ हजार थियो ।

    जग्गा बिक्री गर्ने कसुरमा संलग्न भारतीय नागरिक मेहरालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा १ (ज) र सोही ऐनका दफा १७, दफा ९ र दफा १२ बमोजिमको कसुरको सम्पत्ति लिने खाने प्रकारको मतियार रूपमा आयोगले विशेषमा मुद्दा दर्ता गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस