काठमाडौँ । भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी जंगीअड्डाले अघि सारेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । भावी प्रधानसेनापतिका रुपमा हेरिएका उनले उमेर विवादका कारण शुक्रबार राजीनामा दिएका हुन्।
पाण्डले राजीनामा दिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले पुष्टि गरे। भण्डारीले उनको राजीनामा स्वीकृतिका लागि रक्षा मन्त्रालय पठाइएको जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन गर्न निर्देशन दिएसँगै उनको उमेर विवादबारे छानबिन गर्न नेपाली सेनाले समिति बनाएको थियो। समितिको छानबिनबाट उनले जन्ममिति घटाएको पाइएपछि उनले राजीनामा दिएका हुन्।
उनले नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुई वर्ष उमेर घटाएको पाइएको थियो। उनले उमेर घटाएर दुईवटा नागरिकता लिएको र जन्ममिति फरक–फरक रहेको पाइएपछि उनी विवादमा तानिएका थिए।
प्रधानसेनापति प्रभुराम शर्माले आगामी वर्षको भदौमा अवकाश लिएपछि पाण्डेलाई प्रधानसेनापति बनाउने गरी बढुवा प्रकृया अघि बढाइएको थियो।
‘मार्क रजिस्टर’मा केरमेट
पाण्डेले तनहुँको चुँदीस्थित चन्द्रवती माध्यमिक विद्यालयबाट २०३८ सालमा प्रवेशिका परीक्षा दिएका थिए। प्रवेशिका परीक्षा दिँदा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख थियो।
तर, त्यो जन्ममितिलाई उनले चार वर्षपछि २५ चैत २०४२ मा सच्याएर जन्ममिति घटाएको परीक्षा नियन्त्रण कार्यालयको विवरणमा देखिन्छ। जबकि, जन्ममितिमा कैफियत भए प्रवेशिका परीक्षा दिएको ६ महिनाभित्र सच्याइसक्नुपर्ने प्रावधान उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ मा थियो ।