शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


    हुलाक प्रेस

    • बुधबार, साउन २३ २०८१०१:५१
    पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुर्‍याएपछि राजमार्ग अवरुद्ध भएको हो । 

    शुभकालिका–१ स्थित गगनलेखोला, एसमोड, कालेखोलालगायत विभिन्न स्थानमा सानाठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

    आज बिहानदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँ जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् । गगनेखोलामा ठूलो ढुङ्गासहितको लेदो माटोको पहिरो आउँदा सडक अवरुद्ध भएको छ ।  बिहानदेखि पहिरो पन्छाउने कार्य जारी रहेको सूचना अधिकारी जिटीले बताए ।

    “सबैभन्दा ठूलो ढुङ्गासहितको पहिरो गगनेखोलामा आएको छ । चार–पाँच किमीको दूरीमा अन्य स्थानमा पनि पहिरो गएको जानकारीमा अएको छ । गगनेखोलाको ढुङ्गालाई पन्छाउने र सम्भव नभए ‘ब्रेकर’ लगाएर फुटाल्ने तयारी छ”, उनले भने ।

    गगनेखोलाबाहेक अन्य स्थानमा गाह्रो नभएको र पहिरो पन्छाउने कार्य सकिएपछि सडक सञ्चालनमा आउने सडक डिभिजन कार्यालयले जनाएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजनको मेसिनसहित जनशक्ति बिहानदेखि पहिरो पन्छाउने काममा लागिरहेका छन् । खसेको ढुङ्गा ठूलो भएकाले पहिरो पन्छाउन समय लाग्ने जिटीले बताए। 

    गोगनेखोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएपछि अहिले राजमार्गमा कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । रासस


  • सम्बन्धित विषय:

  • # #pahiro
  • # #karnalirajmarga
  • प्रतिक्रिया दिनुहोस