बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टीआरसी विद्येयक २९ साउनमा प्रतिनिधिसभाबाट पास गर्ने तयारी


    हुलाक प्रेस

    • बुधबार, साउन २३ २०८१०९:४०
    टीआरसी विद्येयक २९ साउनमा प्रतिनिधिसभाबाट पास गर्ने तयारी

    काठमाडौं । तीन दलीय कार्यदलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटाएको सहमति शीर्ष नेताहरुलाई बुझाएको छ ।

    लगत्तै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक भोलि बिहीबार बोलाइएको छ । नेताहरुका अनुसार २९ साउनको प्रतिनिधिसभा बैठकबाट विधेयक पास गर्ने तयारी छ ।

    २५ फागुन २०७९ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन छ । समितिले बनाएको उपसमितिले विधेयकका धेरै विषय टुंग्यायो, तर चार विषयमा शीर्ष नेताहरुको सहमति खोज्यो ।

    शीर्ष नेताहरुले भने १३ असारमा तीन दलका एकएक नेता रहेको कार्यदल बनाए । कार्यदलले चारवटै विवादित विषयमा सहमति जुटाएर बुधबार प्रतिवेदन बुझाएको छ ।

    कार्यदलले मानवअधिकारको गम्भीर उल्लंघनमा नियतपूर्वक वा स्वेच्छचारीपूर्वक गरिएको हत्या (आर्बिटरी किलिङ) लाई राख्ने सहमति जुटाएको छ ।

    मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा घटी सजाय गर्ने सहमति भएपनि आधा र कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने कि प्रतिशत तोक्ने भन्ने विवाद थियो । कार्यदलले जबर्जस्ती करणी वा गम्भीर यौनजन्य हिंसाका घटना बाहेकमा २५ प्रतिशत सजायको माग दाबी गर्न सक्ने सहमति गरेको छ ।

    प्रतिवेदन बुझ्दै शीर्ष नेताहरुले विधेयकलाई यही अधिवेशनबाट पास गर्ने बताएका छन् ।

    प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विधेयकलाई संसदको यही अधिवेशनमा पेश गरेर पास गर्नसमेत आग्रह गरे । उनले भने, ‘यसलाई मैले नयाँ सरकार बनेपछि भएको एउटा राम्रो काम ठानेको छु ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको यही अधिवेशनबाट विधेयक पास गर्ने प्रतिवद्धता जनाए ।

    शान्ति प्रक्रियाको अन्तिम किस्ता बेपत्ताहरुको खोजबीन र सत्य निरुपणका लागि कानुनी दुविधा अन्त्य भएको भन्दै उनले भने, ‘(कार्यदलले) हामीहरुसँग पनि परामर्श गरेर सहमति गरेको हो । पूर्ण हाउसबाट पनि यसै अधिवेशनमा पास गर्छौं ।’

    समितिले बोलायो बैठक

    कार्यदलले प्रतिवेदन बुझाएलगत्तै कानुन, न्याय तथा मानव अधिकार समितिले बैठक बोलाएको छ । भोलि बिहीबार बिहान ११ बजे बस्ने बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल गर्ने कार्यसूची छ ।

    स्रोतका अनुुसार समितिमा कार्यदलले जुटाएको सहमति कानुन मन्त्रालयले पेश गर्नेछ । त्यसमाथि छलफल गरेर बिहीबार नै पास गर्ने तयारी सरकार र दलहरूको छ ।

    समितिले नै भोलि नै विधेयकको प्रतिवेदन पास गरे साउन २९ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गरिने समिति सभापति बिमला सुवेदीले जानकारी दिइन् ।

    प्रतिनिधिसभामा शीर्ष नेताहरुले बोल्नेछन् । त्यसपछि विधेयकलाई पास गर्ने दलहरुको तयारी छ ।

    प्रतिनिधि सभाबाट पारित भएपछि विधेयक राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभामा सैद्धान्तिक छलफल गर्ने, सांसदहरूका लागि संशोधनका लागि ७२ घण्टाको समय दिने, सांसदहरुको संशेधनउपर छलफल चलाउने र सम्बन्धित मन्त्रीले जवाफ दिएर पारित गर्नका लागि कम्तीमा एक साता लाग्छ ।

    ‘संसदको चालू अधिवेशनमै टीआरसी विधेयक पास गर्ने राजनीतिक सहमति छ । त्यसआधारमा संसदमा विधेयक अगाडि बढ्छ’, कानुन समितिका सभापति सुवेदीले भनिन् ।


    प्रतिक्रिया दिनुहोस