काठमाडौं । पछिल्लो समय विश्वबजारमा डलरको मूल्य लगातार उकालो लाग्दो क्रममा छ । लगातार उकालो लागिरहेको डलरको मूल्यका कारण नेपालको छिमेकी देश भारतीय रुपैयाँ (भारु) पनि कमजोर हुँदै गएको तथ्यांकमा देख्न सकिन्छ ।
नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण भारतीय मुद्रा अवमूल्यन अर्थात कमजोर हुँदा त्यसको बाछिटा नेपाली मुद्रामा पर्छ नै । त्यसैका कारण पछिल्लो हप्ता नेपाली मुद्रा पनि लगातार अवमूल्यन भइरहेको देख्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार नेपाली मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । यसअघि गएको मंगलबार एक डलर खरिद गर्नका लागि १ सय ३४ रुपैयाँ ४६ पैसा खर्च गर्नुपर्ने अवस्थामा पुगेको नेपाली मुद्राको अवस्था बिहीबार अझै अवमूल्यन हुँदै एक डलर खरिद गर्न १ सय ३४ रुपैयाँ ६४ पैसा खर्चनुपर्ने भएको छ ।
यता भारतीय मुद्रा पनि त्यसैअनुरुप ओरालो लागिरहेको छ । गएको मंगलबार एक डलर खरिद गर्नका लागि करिव ८४ डलर खचिर्नुपर्ने अवस्था आएको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्दा पनि अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा करिव २ रुपैयाँले अवमूल्यन भएको देखिन्छ ।
किन बढ्यो डलरको भाउ ?
खासगरी डलरको भाउ उकालो लाग्नुमा भूराजनीतिक, आर्थिक तथा अन्य कारणहरु मुख्य हुन्छन् । कुनै वस्तुको माग बढी हुँदा त्यसको मूल्य बढ्ने सामान्यतः अर्थशास्त्रको नियम डलरमा पनि लागू हुन्छ । पछिल्लो समय भने मध्यपूर्वमा बढेको भूराजनीतिक तनावको प्रत्यक्ष असर एशियाका धेरैजसो देशको मुद्रा अवमूल्यनमा परेको अर्थशास्त्रीहरु बताउँछन् । इरान र इजरायलबीच चर्किएको द्वन्दका कारण पछिको संचितिका लागि भन्दै बढाएको तेल आयातले डलरको माग बढाएको छ ।
यसरी डलरको माग उच्च हुँदा पछिल्लो समय यसको मूल्य बढेर अन्य मुद्राहरु कमजोर भइरहेको देख्न सकिन्छ । यस्तै अमेरिकामा स्थानीय आयातकर्ताहरुले धेरैजसो वस्तुहरुको आयात बढाएर आयात मूल्य घटेका कारण पनि रिभर्ज बैंकले मुद्रास्फीतिलाई सन्तुलनमा राख्न बैंक ब्याजमा केहि कटौती गर्ने चर्चा छ । यसैका कारण पनि डलरको माग उच्च रहेको यसले अन्य मुद्रालाई असर गरेको एकथरी अर्थशास्त्रीहरु बताउँछन् ।