बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बंगलादेशमा अल्पसंख्यकमाथि आक्रमण, हिन्दु धर्मालम्बीको घर तथा व्यवसायिकस्थलमा लुटपाट


    हुलाक प्रेस

    • शुक्रबार, साउन २५ २०८१०४:५९
    बंगलादेशमा अल्पसंख्यकमाथि आक्रमण, हिन्दु धर्मालम्बीको घर तथा व्यवसायिकस्थलमा लुटपाट

    काठमाडौं । बंगलादेशमा शेख हसिना सत्ताच्युत भएसँगै त्यहाँका अल्पसंख्यकमाथि आक्रमण हुन थालेका समाचार बाहिरिएका छन् । करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा ९१ प्रतिशत मुस्लिम धर्मावलम्बी छन् ।

    बंगलादेशको दैनिक पत्रिका ‘द डेली स्टार’का अनुसार हसिनाले बंगालदेश छाडेकै दिनमा बंगलादेशका २७ जिल्लामा हिन्दु धर्मावलम्बीका घर तथा व्यापारिकस्थलमा हमला तथा लुटपाट भएको थियो । बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका मोहम्मद युनुसले पनि अल्पसंख्यकमाथिको आक्रमण रोक्न आग्रह गरेका छन् ।

    युनुसको आग्रहका बाबजुद बंगलादेशमा हिन्दु धर्मावलम्बीका घर, मन्दिर र व्यावसायिक स्थानमा हमला नरोकिएको ‘द डेली स्टार’ पत्रिकाले लेखेको छ ।

    आक्रमण, लुटपाट नरोकिएपछि बंगलादेशका सयौँ हिन्दुहरू भारत जानका लागि बंगलादेश भारत सीमा क्षेत्रमा जम्मा भएका छन् । बंगलादेश र भारत दुवैले सीमा क्षेत्रमा कडाइ गरेका कारण सुरक्षा खोज्दै भारत जान खोजिरहेका हिन्दुहरू बंगलादेशको सीमामै रोकिएको ‘द डेली स्टार’ पत्रिकाले उल्लेख गरेको छ । बेलायतको समाचार ‘बीबीसी’ले पनि बंगलादेशमा हिन्दुहरूमाथि आक्रमण भइरहेको समाचार लेखेको छ ।

    ‘बीबीसी’का अनुसार बंगलादेशका अल्पसंख्यक हिन्दुहरूमाथि यतिखेर निरन्तर आक्रमण भइरहेको छ । उनीहरूका घरमा आगो लगाइएको, लुटपाट मच्चाइएको छ । बंगलादेशमा अल्पसंख्यकका घर, धार्मिकस्थल र व्यापारिक स्थानमा भइरहेको लुटपाट, आक्रमण र तोडफोड भइरहेको कुरा भारतका विदेशमन्त्री एस जयशंकरले २२ साउनमा भारतका दुवै सदनलाई जानकारी गराएका थिए ।


    प्रतिक्रिया दिनुहोस