शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भ्रष्टाचार मुद्दामा दोषी ठहर चुडामणि शर्माले गरे आत्मसमर्पण


    हुलाक प्रेस

    • शुक्रबार, साउन २५ २०८१०७:२१
    भ्रष्टाचार मुद्दामा दोषी ठहर चुडामणि शर्माले गरे आत्मसमर्पण

    काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् ।

    कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि गरेका छन् । शर्मा गत बुधबार कारागार उपस्थित भएका हुन् । साथै उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि दिएको स्रोतले बतायो ।

    विशेष अदालतले ५ असार २०८० मा बहुचर्चित कर फर्स्यौटमा शर्मा सहित तीन जना पदाधिकारीलाई दोषी ठहर गर्दै ९ वर्षका दरले कैद सजाय हुने फैसला गरेको थियो ।

    कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेश ढकाल र सदस्य सचिव रहेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा दोषी ठहर भएका थिए ।

    अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगको कामकारबाहीबाट ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४९ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै त्यसलाई तीन जना आरोपीबाट बिगो भराउने आदेश गरेको थियो ।

    विशेष अदालतबाट भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका व्यक्तिहरु सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउँछन् । तर पुनरावेदन गर्दा उनीहरुले बिगो र जरिवाना बापतको रकम धरौटी बुझाउनुपर्छ । अनि कैद तोकिएको अवस्थामा हरेक दिनको ३ सय रुपैयाँका दरले थप धरौटी जम्मा गर्नुपर्छ ।

    बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ परेको थियो । तोकिएको धरौटी बुझाउन नसक्ने अवस्था भएमा दोषी ठहर भएकाहरु थुनामै बसेर पुनरावेदन गर्न पाउँछन् । ठूलो रकम धरौटीबापत बुझाउनुपर्ने भएपछि शर्माले थुना रोजेका हुन् ।


    प्रतिक्रिया दिनुहोस