शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना


    हुलाक प्रेस

    • मंगलबार, भदौ ४ २०८१०९:१३
    सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । सातवटै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा बिहान मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो । 

    बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

    यसैबीच, दाङमा भारी वर्षा भएको छ । राति २ बजेदेखि दाङमा भारी वर्षा भएको हो । दाङको पदमपुर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको विभागले जनाएको छ । 

    थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बहने बबई र यसका सहायक नदीहरूमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । 

    पछिल्लो एक घण्टामा नवलपुरस्थित डण्डा वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले नारायणी र यसका सहायक नदीहरूमा बहाव बढ्ने विभागले जनाएको छ । 

    भारी वर्षाको पनि सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागको आग्रह छ । 

    दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात सेवामा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

    हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको छ । न्यूनचापीय रेखा उत्तरतर्फ हुँदा नेपालमा मनसुन थप सक्रिय भएर धेरै वर्षा हुन्छ । 


    प्रतिक्रिया दिनुहोस