शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, यी स्थानमा हुनेछ भारी वर्षा


    हुलाक प्रेस

    • बुधबार, भदौ ५ २०८१०९:२०
    सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, यी स्थानमा हुनेछ भारी वर्षा

    काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि भारी वर्षा भइरेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा केही स्थानमा भारी वर्षा भइरहेको हो ।

    वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

    पर्साको रङ्गापुर, टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगंज र आसपास भारी वर्षा भएको छ । मकवानपुरको हात्तीसुडे, भोर्लेनी, रौतहटको चन्द्रपुर, गरुडा, सर्लाहीको मानुसमारा, सिन्धुलीको कुसुमटार, रानीचुरी वर्षामापन केन्द्रहरू र आसपासमा भारी वर्षा भएको छ । 

    थप हुनसक्ने भएकाले उक्त क्षेत्र भएर बग्ने दुधौरा, पसाहालगायत साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । 

    तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बिहान १० बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    कैलाली जिल्लाको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा रहनेहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ । 

    विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोेसी, वाग्मती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ रहेको विभागले जनाएको छ । 

     


    प्रतिक्रिया दिनुहोस