काठमाडौं । घरेलु टोली बार्सिलोनाले स्पेनिस ला लिगामा शनिबार एथलेटिक क्लब बिल्वाओविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।
लुइस कम्पनिस ओलम्पिक रंगशालामा बार्सिलोनालाई जित दिलाउन लामिन यमल र रोबर्ट लेवान्डोस्कीले गोल गरे । बिल्वाओका लागि ओइहान सान्सेटले गोल फर्काए ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ । पराजय ब्यहोरेको बिल्वाओ समान खेलबाट एक अंकका साथ १६औं स्थानमा छ ।
खेलको २४औं मिनेटमा यमलको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । पहिलो हाफको निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा सान्सेटले पेनाल्टीमा गोल गर्दै बिल्वाओलाई बराबरीमा ल्याए । लेवान्डोस्कीले ७५औं मिनेटमा गोल गर्दै बार्सिलोनाको विजयी यात्रा दोस्रो खेलसम्म पनि कायम राखे ।
यसैगरी शनिबार नै सम्पन्न अन्य खेलमा सेल्टा भिगोले भ्यालेन्सियालाई ३-१, भिल्ला रियालले सेभियालाई २-१, ओसासुनाले मालोर्का र रियाल सोसिडाडले स्पान्योललाई समान १-० ले पराजित गर्दा गेटाफे रायो भ्यालेकानोसँग गोलरहित बराबरीमा रोकियो ।