शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भारतीय प्रधानमन्त्रीले ईपीजी प्रतिवेदन नबुझ्दा हामीले बुझ्न पाएनौः प्रधानमन्त्री ओली


    हुलाक प्रेस

    • सोमबार, भदौ १० २०८१०९:५६
    भारतीय प्रधानमन्त्रीले ईपीजी प्रतिवेदन नबुझ्दा हामीले बुझ्न पाएनौः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझ्दा राम्रो हुने बताएका छन् । ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले सल्लाह गरेरै ईपीजी बनाएको भए पनि भारतीय पक्षले प्रतिवेदन नबुझेको बताए ।

    सोमबार राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापाले लेखेको पुस्तक ‘नाकाबन्दी र भूराजनीति’को लोकार्पण समारोहमा उनले ईपीजीले भारतीय प्रधानमन्त्रीले बुझेपछि नेपालको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेकाले आफूले बुझ्न नपाएको पनि बताए ।

    उनले आफूहरूले प्रतिवेदन बुझ्न र प्रतिवेदनमा उल्लेखित विषयहरूमाथि छलफल गर्न आग्रह गरिरहेको बताए । प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धिलगायतका विषयको पुनःमूल्यांकन हुनुपर्ने बताए ।

    "मोदीजी र मैले कुरा गरेरै प्रबुद्ध व्यक्तिहरूको समूह बनाएका थियौँ । चार जनाको समूह बनाएर दुई वर्षसम्म काम गर्‍यो । डा. भेषबहादुर थापाजस्ता प्रबुद्ध व्यक्तित्व, निलाम्बर आचार्यजस्ता प्रबुद्ध व्यक्तित्व । उहाँहरूकै अगुवाइमा हामीले गरेका थियौँ । तर के कारणबाट भारतले त्यो बुझेको छैन," उनले भने ।

    प्रधानमन्त्री ओलीले छिमेकी देशहरूसँग राष्ट्रिय हितको पक्षमा खुलस्त कुरा गर्नुपर्ने बताए । उनले छिमेकी देशहरूसँग एकको विरुद्ध अर्को कार्ड नखेलिने पनि स्पष्ट पारे ।


    प्रतिक्रिया दिनुहोस