शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • महामन्त्रीद्वयको प्रतिवेदनमा छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बस्दै


    हुलाक प्रेस

    • मंगलबार, भदौ ११ २०८१०८:४४
    महामन्त्रीद्वयको प्रतिवेदनमा छलफल  गर्न कांग्रेस शीर्ष नेताको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

    बिहान ११ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मालाई बोलाइएको छ ।

    दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने गरी छलफल गर्न देउवाले बैठक बोलाएको एक नेताले बताएका छन् ।

    २३ साउन देखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेण्डाहरू माथि छलफल भइरहेको छ । गत फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जितसहित पारित गर्ने निर्णय गरेर प्रतिवेदनको निर्णय लिने अधिकार केन्द्रीय समितिलाई दिएको छ ।

    जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रतिवेदन पेश गरेका छन् ।

    थापाको प्रस्तावमा गठबन्धनको विषय उल्लेख नभएपनि देउवा पक्षीय नेताहरुले चुनावी तालमेल रणनीतिक विषय भएकाले अहिले निर्णय गर्न आवश्यक नरहेको बताउँदै आएका छन् ।

    महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव गरेका छन् । राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक भन्दा हुन नपाउने उनको प्रस्ताव छ ।

    २३ साउनदेखि बसिरहेको केन्द्रीय समिति बैठक बुधबार (१२ भदौ)मा सकिंदैछ । बैठकमा सभापति, उपसभापति र महामन्त्री गरी पाँच जना बोल्न बाँकी छन् ।


    प्रतिक्रिया दिनुहोस