स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले २० लाख रुपैयाँको सयपत्रि फूल निर्यात गरेको छ। गाउँपालिका भित्रका कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो। कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म २० लाख रुपैयाँ बराबरको फूल निर्यात भइसकेको जानकारी दिए।
उनले फूलखेतीका लागि पालिका भित्रका ७ वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताए। उनले तिहार अवधिभर पालिकाभित्र अनुदान पाएका र नपाएका कृषकको २५ लाख रुपैयाँ बराबरको सयपत्रीका फूल निर्यात हुने दाबी गरे।
‘फूल खेती र ड्रागन खेतीका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थियौँ,’ उनले भने, ‘फूल खेती गर्न चाहेका ३२ कृषकको निवेदनमाथि उत्कृष्ट जमिन छनोट गरेर १६ समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत ९ हजार उपलब्ध गराएका छौँ।’
उनका अनुसार पालिका भित्र अनुदान लिएर गरेका फूल खेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गाबेँसीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका कासीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूह खेती उत्कृष्ट रहेका छन्। - रासस