३५ वर्षअघि परिवारको सम्पर्कबाट टाढिएर बेपत्ता बनेका प्रकाश मोक्तानले आइतबार नागरिकता पाएका छन् । प्रकाशलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै गएर नागरिकता प्रदान गरेको हो । वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख विनोद अधिकारी, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको रोहबरमा षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले उनलाई नागरिकता हस्तान्तरण गरेका थिए ।
३५ वर्षअघि काठमाडौंबाट हराएका प्रकाशलाई विद्या चापागाईं र कमलकुमारले निर्देशन, निर्माण गर्दै आएको हेर्ने कथा (युट्युव श्रृंखला) ले उत्तरी गोरखाको चुम उपत्यकामा फेला पारि उनको कथा सबै सामु प्रस्तुत गरेका थिए ।
हेर्ने कथाकै माध्यमबाट परिवारको सम्पर्कमा पुगेका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत नागरिकता वितरणमा सहजीकरण गरिदिन तत्कालीन गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएका थिए ।