शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • राजदूत नियुक्तिलाई थप व्यवस्थित र कार्यसम्पादनमा आधारित बनाउन सरकार प्रयासरत छ :  परराष्ट्रमन्त्री राणा


    हुलाक प्रेस

    • मंगलबार, भदौ १८ २०८१०१:५८
    राजदूत नियुक्तिलाई थप व्यवस्थित र कार्यसम्पादनमा आधारित बनाउन  सरकार प्रयासरत छ :  परराष्ट्रमन्त्री  राणा

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले राजदूत नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, कार्यसम्पादनमा आधारित बनाउन वर्तमान सरकार प्रयासरत रहेको बताएकी छन् ।

    प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिको मंगलबारको बैठकमा आफ्नो भारत भ्रमण र राजदूत सिफारिसका विषयमा जवाफ दिने क्रममा उनले संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाएर राजदूत सिफारिस गरिएको बताउँदै यसको प्रक्रियामा सरकार थप प्रयासरत रहेको बताएकी हुन् ।

     “नेपालको संविधानको धारा २८२ अनुरूप राजदूत नियुक्ति गर्ने तथा सोका लागि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ दफा ८ को ९ग० बमोजिम राजदूतहरूको सिफारिस गर्ने व्यवस्था प्रचलनमा रहेको छ,” मन्त्री राणाले भनिन्, “संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाउन यो सरकार अधिकतम रूपमा प्रयासरत छ र रहनेछ ।”

    राजदूत नियुक्त गर्दा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट गर्ने नीतिलाई निरन्तरता दिइएको उनले उल्लेख गरिन् । “राजदूतहरूको नियुक्तिमा राजनीति र व्यवसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई यसपटक निरन्तरता दिइएको छ,” मन्त्री राणाले भनिन्, “सेवाबाहिरबाट नियुक्तिका लागि सिफारिस गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने गरी सिफारिस गरिएको छ ।”


    प्रतिक्रिया दिनुहोस