काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रहरी प्रमुखमाथि अभिव्यक्तिका विषयमा पूर्वप्रहरी संगठन प्रमुख मञ्चले आपत्ति जनाएको छ ।
मञ्चले मंगलबार विज्ञप्ति जारी गर्दै एक विशिष्ट श्रेणीका राष्ट्रसेवक प्रहरी प्रमुखमाथि सार्वजनिक कार्यक्रममै ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति भाषिक अराजकता रहेको जनाउँदै उक्त अभिव्यक्ति ‘फिर्ता लिएर’ आईजीपीसँग माफी माग्न मन्त्री गुरुङलाई मञ्चले आग्रह गरेको छ ।
मञ्चले विज्ञप्तीमा यस्ता प्रकारका भाषाले पूरै प्रहरी संगठनको मानमर्दन भएको उल्लेख गरेको छ ।
यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मन्त्री गुरुङलाई ‘जिब्रो थुत्नुपर्ने’ शब्द कुन सन्दर्भमा बोलेको भनेर सोधेका थिए । प्रधानमन्त्री ओलीले सोधेको विषय गुरुङ आफैँले सोमबार राष्ट्रिय समाचार समितिको कार्यक्रममा बताएका थिए ।
गएको आइतबार पोखरामा ‘प्रेस कन्फरेन्स’मा पत्रकारले सोधेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले संघीय प्रहरी ऐन ल्याउन प्रहरी महानिरीक्षकले अस्वीकार गर्दै आएको प्रसंगमा आईजीपीको ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।