काठमाडौं । सरकारले सोमबारबाट नेपालमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । टिकटक बन्द हुने भएपछि सरकारविरुद्ध विभिन्न टिका टिप्पणी पनि भइरहेका छन् ।
यसै सन्दर्भमा मंगलबार नेपाल संवतकाे अवसरमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलल् पार्नबाट बचाउन टिकटक माथि प्रतिबन्ध लगाएको बताएका छन् । टिकटक बन्द गर्ने निर्णय पर्व सबै दलको सहमति रहेको समेत बताएका छन् । टिकटक बन्द भएपछि धेरैले आफ्नो व्यापार व्यवसायका लागि सूचना आदानप्रदान र प्रचार गर्ने थलो गुमाएका छन् । केहीले टिकटकमा लाइभ बसेर पैसा पनि कमाएका थिए । टिकटक बन्दसँगै यसका विकल्प पनि देखिएका छन् ।
टिकटक बन्द भएसँगै यसको विकल्पमा नेपालमा यी एप प्रयोग गर्न सकिन्छ :–
इन्स्टाग्राम रिल्स
इन्स्टाग्राममा छोटो भिडियोलाई ‘रिल’का रुपमा पोस्ट गर्न सकिन्छ । यसबाट विभिन्न ब्रान्डहरूसँग सहकार्य गरेर पैसा कमाउन सकिन्छ । यस्तै ठूला क्रिएटरहरूले लाइभ ब्याज र सप फिचरबाट पनि आम्दानी गर्नसक्छन् ।
फेसबुक रिल्स
फेसबुकमा रहेको रिल्स फिचर पनि टिकटकको राम्रो विकल्प हो । रिल्समा अपलोड गरेका भिडियोमा धेरै भ्युज गएमा मोनिटाइज गरेर आम्दानी गर्न सकिन्छ । फेसबुकमा रिल मात्रै होइन भिडियोहरू नै अपलोड गरेर मापदण्ड पुगेपछि मोनिटाइज गरेर आम्दानी गर्न सकिन्छ ।
युट्युब सर्टस
टिकटकलाई टक्कर दिन युट्युबले ल्याएको सर्ट भिडियो फिचर युट्युब सर्टस पनि टिकटकको विकल्प हो । युट्युब सर्टस भिडियोमा पनि राम्रो भ्युज जान्छ । सर्टस मोनिटाइज गरेर आम्दानी पनि गर्न सकिन्छ । युट्युब सर्टस मोनिटाइज गर्न १ हजार सब्सक्राइबर र ९० दिनमा १ करोड भ्युज भएको हुनुपर्छ ।
स्न्यापच्याट
मल्टिमिडिया र म्यासेजिङ एप स्न्यापच्याटमा पनि छोटा भिडियोहरू राख्न सकिन्छ । स्न्यापच्याटको स्पटलाइट फिचरमा भिडियो राखेर क्रिएटरहरूले कम्पनीको तर्फबाट रिवार्ड पाउन सक्छन् । मापदण्ड पूरा गरेपछि स्न्यापच्याटको स्पटलाइटबाट आम्दानी गर्न सकिन्छ ।
एक्स
एक्स (ट्विटर)ले पनि भिडियो एवं अन्य क्रिएटरका लागि आम्दानी गर्न सकिने सुविधा थपेको छ । मापदण्ड पूरा गरेपछि एक्समा राखेको भिडियोबाट पनि आम्दानी गर्न सकिन्छ र एक्स आफैँले पोस्टको भ्युजका आधारमा समेत पैसा दिने गरेको छ ।
एक्सको सब्सक्राइब फिचरबाट पनि क्रिएटरहरूले आम्दानी गर्न सक्छन् । पैसा तिरेर सब्सक्राइब गरेका फलोअरहरूलाई क्रिएटरहरूले विशेष कन्टेन्टमा पहुँच दिनसक्छन् तर यो फिचर नेपालको हकमा त्यति सहज नहुन सक्छ ।
यसबाहेक लाइकी, लेमन–८, ट्रिलर, मोज, जुमेरंगलगायत एप पनि उपलब्ध छन् । तर नेपालका धेरै प्रयोगकर्ता फेसबुक, इन्स्टाग्राम र युट्युबमा भएका कारण यी तीनवटै प्लेटर्फमको रिल र सर्ट भिडियो फिचर अहिलेका लागि बढी उपयोगी हुन सक्छ ।