काठमाडौं । पेरिसले आइतबार आकर्षक कार्यक्रम गरेर औपचारिक रुपमा २०२४ को ओलम्पिक कार्यक्रम समापन गरेको छ । फ्रान्सको राजधानीमा खेलकुद सरगर्मीले यो समापनसँगै बिदा लिएको छ ।
समापन समारोहमा फ्रान्सेली इलेक्ट्रोनिक संगीत क्षेत्रका २४ जना कलाकारहरूले भारी वर्षाको बाबजुद पनि स्टाड डे फ्रान्समा भव्य प्रस्तुति दिएका थिए । १६८ प्यारालिम्पिक टोलीका ४,४०० खेलाडीहरूको अगाडि उत्सवपूर्ण वातावरणको अन्त गरे ।
अन्तर्राष्ट्रिय प्यारालिम्पिक कमिटिका अध्यक्ष एन्ड्रयू पर्सन्सले फ्रान्सले भविष्यका खेलका लागि गतिलो ‘मापदण्ड’ स्थापित गरेको बताए । उनले भने,’फेसन र खानाका लागि प्रसिद्ध देश, फ्रान्स अब आफ्ना समर्थक र खेलकुद कर्मीका लागि नयाँ मानकको सहरका रुपमा स्थापित भएको छ ।’
पारा ओलम्पिकमा चीनले सर्वाधिक ९४ स्वर्ण ७६ रजत र ५० काश्य सहित कुल २ सय २० पदक जितेर शीर्ष स्थानमा रह्यो । त्यस्तै बृटेन ४९ स्वर्णसहित कुल १ सय २४ पदकका साथ दोस्रो स्थानमा रहँदा अमेरिका ३६ स्वर्णका साथ १ सय ५ पदकका साथ तेस्रो स्थानमा रहन सफल भयो ।
इतिहासमा पहिलो पटक पदक जितेको नेपाल ७९ औं स्थानमा रह्यो। कुल ८३ देश पदक विहीन भएर स्वेदश फर्किए ।