शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ऐतिहासिक अभिलेखमा रहेको राजगुठी कमलपोखरी मासेर कसरी बन्यो छाया सेन्टर ?


    हुलाक प्रेस

    • मंगलबार, चैत २७ २०८०१२:०७
    ऐतिहासिक अभिलेखमा रहेको राजगुठी कमलपोखरी मासेर कसरी बन्यो छाया सेन्टर ?

    काठमाडौं । ठमेलको मुटुमा ऐतिहासिक कमलपोखरी मासेर शक्तिको आडमा बनेको छाया सेन्टर सत्ता र शक्तिको आडमा नक्कली मोही खडा गरेर स्वार्थी समूहले आफ्नो नाममा बनाएको पाइएको छ । छाया सेन्टर बन्नुअघि सो ठाउँको ऐतिहासिक कमलपोखरी रहेको विभिन्न तथ्य र प्रमाणले प्रस्ट पारेको छ ।

    सय वर्ष पहिलादेखि हालको छाया सेन्टर भएको ठाउँ ‘थँ बहिल’मा कमलपोखरी थियो । सो पोखरी केशरशमशेरको पालासम्म रहेको थियो । केशरशमशेरपछि उनका सन्तानले शक्ति र सत्ताको आडमा ‘भगवानको बिर्ता’ रहेको ऐतिहासिक अभिलेख नामेट बनाएर राज्य शक्तिको समेत दुरुपयोग गरेर व्यक्तिलाई बिक्री गरे । व्यापारिक छाया सेन्टर कम्प्लेक्स बनाउनेहरूले जे जस्तो दाबी गरे पनि ऐतिहासिक अभिलेख र प्रमाणले सो क्षेत्र राजगुठी र कमलपोखरी रहेको तथ्य भने नकार्न सक्दैनन् । १९७६ सालसम्म पोखरीको स्याहारसुसार’बारे अभिलेखमा उल्लेख छ । त्यसपछिका अभिलेखले पोखरी हडप्न थालिएको देखाउँछ ।

    तत्कालीन पुनरावेदन (हाल उच्च अदालत) पाटनको फैसलामा टेकेर छाया सेन्टर भवन निर्माण भए पनि सो फैसलालाई सर्वोच्च अदातले त्रुटिपूर्ण भनिसकेको अवस्था छ । सर्वोच्च अदालतले पुनरावेदनको फैसला त्रुटिपूर्ण भन्दै खारेज गरिसकेपछि भवन भत्काएर सो स्थानमा ऐतिहासिक कमलपोखरी बसाल्नुपर्ने हो ।

    तर, सर्वोच्चमा दायर भएको मुद्दा लामो समयदेखि विचाराधीन हुँदा निर्वाध रूपमा छाया सेन्टर सञ्चालन भइरहेको छ । छाया सेन्टरका लगानीकर्ताले सो क्षेत्रमा निजी पोखरी थियो भनेर दाबी गरे पनि तथ्य हेर्दा सो ठाउँमा श्री सिंहसार्थ गरुड भगवान गुठीअन्तर्गत कमलपोखरी रहेको देखिन्छ ।

    छायाँ सेन्टरका तर्फबाट अदालतमा पनि निजी पोखरी किनेको दाबी पेस भइरहेका छन् । तर, सर्वोच्च अदालतमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठ र कमलपोखरी संरक्षणका अभियन्ता भागवतनरसिंह प्रधानले छाया सेन्टरलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

    विसं १९३९ सालमा कमलपोखरीको डिल थँ वहिलका लुचा ज्यापुले मोरु २० मा ठेक्का लिएको १९४६ सालको दस्तावेज । डिलमा फलफुल लगाई गुठीको आयस्रोत बढाइन्थ्यो । तीमध्येका एक भागवतनरसिंह प्रधान ऐतिहासिक कमलपोखरी मासेर छाया सेन्टर बनाएको तथ्य र प्रमाणसहित आफूहरूले अदालतमा आफ्नो दाबी प्रस्तुत गरिरहेको बताउँछन् । ‘सबै अभिलेख हेरेपछि छाया सेन्टर भत्काउनुको विकल्प छैन,’ प्रधानले भने, ‘हामी सबै हिसाबले बलिया छांै, हाम्रो सम्पदा संरक्षणमा अदालतले पक्कै न्याय गर्छ भन्नेमा हामी विश्वस्त छौं ।’

    गरुड भगवान गुठीले १९६५ सालमा पोता तिरेको पोता रसिदमा कमलपोखरी डिलसमेत साढे २६ रोपनी उल्लेख गरिएको छ । १९७० सालको अभिलेखमा पनि यस्तै विवरण उल्लेख छ । डिल्लीबजार, लगत फाँटमा रहेको १९६७ सालको ठमेलको पोता लगतमा कमलपोखरी डिलसमेत साढे २६ रोपनी उल्लेख गरिएको छ । पोखरी वरिपरिको डिल, पुरानो बाटोसमेत बारीको ‘थँ बहिल’का गोप्रसादसिंह प्रधानले लिएको ठेक्का’बारे उल्लेख गरिएको अभिलेख छ ।

    १९४७ सालमा ठिमीका काशीनाथ श्रेष्ठले घर बनाउँदा कबुलियत गरेको पत्रमा ‘थँ बहिल’ भगवानको बिर्ता कमलपोखरी भनी उल्लेख छ । १९४७ सालमा कमलपोखरीको पश्चिमपट्टिको पर्खालमा ढोका बनाउने र पर्खाल भत्केको बिग्रेको बनाउने’बारे अभिलेख छ । १९५० सालको अभिलेखले पनि पोखरीको डिलको विषय उल्लेख गरेको छ । १९५३ सालको विक्रमशील महावीर गरुड भगवान् गुठीको जग्गा जनरल केदारनरसिंह राणाको पर्खालभित्र पर्न गएको गुठीमा रहेको अभिलेखमा उल्लेख छ ।

    गरुड भगवान् गुठीको १९७१ सालको अभिलेखमा कर्णेल इमानसिंह बस्न्यातले १९५८ सालमा घर क्याम्पा बनाउँदा खिचलोको कारबाही हुँदा सो जग्गा भगवान्लाई चढाएको जग्गा हो भनी १८३९ सालको लालमोहर र १९३७ सालको दुईछापे रुक्का दस्तखतबमोजिम ठमेलको भगवान्को नामको चारकिल्ला सिमाना उल्लेख गरी पहाद बन्दोबस्त बिर्ता फाँटबाट तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरलाई चढाएको रिपोर्टमा सो जग्गाको सट्टा भर्ना’ उल्लेख छ ।

    4 (1).jpg


    विसं १९४७ सालमा पोखरी वरिपरिको डिल सफा गर्न गो प्रसाद सिंह प्रधानलाई ठेक्का दिएको दस्तावेज ।

    १९५९ सालमा भगवान् बहालको निकास कमलपोखरीमा पठाउन बहालअगाडि कुलो बनाउने अभिलेख छ । कमलपोखरीको पश्चिमपट्टिको पर्खालदेखि कमलपोखरीसम्म गुम्बज हाली पानी जाने निकास बनाउने १९६१ सालको अभिलेख छ ।

    १९४७ सालको स्याहामा कमलपोखरीमा घाँस उम्रेको फोहोर सफा गराउन मोही रैतीहरूलाई खाजा खुवाउनसमेत लाग्ने रकमको विवरणसहित कमलपोखरी पर्खाल भत्केको बिग्रेको बनाउने अभिलेख छ । १९५० र १९५१ सालमा कमलपोखरी सफा गर्नका लागि काम लगाउँदाको खाजा खर्चको विवरणसहितको लिखत छ । १९५३ सालको आवर्जेमा कमलपोखरी सफा गर्नेहरूलाई दिउँसो खाजाभात खुवाउन गरिएको खर्चको विवरण छ । १९७० सालको लिखतमा पोखरीको पेटीमा उम्रेको घाँस काट्ने ठेक्का उल्लेख छ ।

    पोखरीको डिलमा सुन्दर बगैंचामा फलफूल रूख रहेको ऐतिहासिक दस्तावेजमा उल्लेख छ । १९४९ सालमा पोखरीको डिलको बारीमा फलेको भोगटेको बिक्री उल्लेख भएको भगवान् गुठीको अभिलेख छ । १९५१ सालमा पोखरीको डिलको बारीमा फलेको बिमिरो र सुन्तला बिक्री गरिएको अभिलेख छ । १९७० सालमा पोखरीका डिलमा फलेको सुन्तला बिक्री गरिएको अभिलेख छ । १९५३ सालको स्याहामा कमलपोखरी डिलको बगैंचा हेरविचार गर्नेलाई बस्न ठाउँ बनाउने उल्लेख छ । पोखरी वरिपरि सुन्दर बगैंचा थियो, जहाँ सुन्तला, बिमिरो, भोगटे फल्थे । अभिलेखहरूका अनुसार फलफूल बिक्रीका लागि ठेक्का दिने गरिएको थियो ।

    १९५६ सालको पोखरीको डिल पूर्व–दक्षिणको ठेक्का उल्लेख गरिएको १९५७ सालको विवरणबाट देखिन्छ । १९५७ सालको सिधवीर प्रधानको पोखरीको डिलको उत्तरतर्फको ठेक्का १९५८ सालको विवरणमा देखिन्छ । ठेक्का लिएर रकम तिरेको विवरणसमेत गुठीमा सुरक्षित छ । गोप्रसादसिंह प्रधानले कमलपोखरीको चौतर्फी डिलको जग्गाको ठेक्कास्वरूप मोरु ४० गुठीमा दाखिला गरेको १९५८ सालको ऐतिहासिक विवरणमा उल्लेख छ । १९७० सालको अभिलेखमा पोखरीबाहेकको डिलका बाली फलफूलसमेत गोप्रसादलाई ठेक्का गएको गुठीको अभिलेखले देखाउँछ ।

    5 (1).jpg

    कमलपोखरीमा फुलेको कमल र पात बिक्री गरिएको गुठीमा रहेको विसं १९७० सालको दस्तावेज ।

    कसरी हडपियो कमलपोखरी टाइमलाइन ?
    – १९७७ सालमा केशरशमशेरबाट कमलपोखरी लिने काम
    – केशरशमशेरले कमलपोखरी भाडामा लिएपछि उनले सो पोखरी आफ्नो दरबारभित्र पारेका
    – गुठीका तत्कालीन बहिदान डिल्लीसिंह प्रधानलाई लेखिएको पत्रमा पोखरीको डिलमा रहेको जग्गाको सट्टाभर्ना गरे र पोखरीबापत मोरु १ सय २५ गुठीलाई बुझाउने उल्लेख
    – २०२५ सालको अभिलेखनुसार केशरशमशेरको मृत्युपछि पर्खालभित्र पारेको सो पोखरीको सम्झौताबापत १ सय २५ रुपैयाँ तिर्न छाडिएको
    – केशरशमशेरको मृत्युपछि २०२७ सालबाट केयूरशमशेरले सो पोखरी हडप्न सुरु गरेपछि सोविरुद्ध अदालतमा मुद्दा मामिला सुरु भएको
    – सर्वोच्चले ३ पुस २०३३ मा कमलपोखरी र त्यसको डिल कायम हुनुपर्नेे फैसला
    – ८ माघ २०३३ मा गुठियार, केयूरशमशेर र गुठी संस्थानबीच सर्वोच्च अदालतमा मिलापत्र भई जग्गाको बहाल दिने सहमति
    – २०३९ सालको जग्गाधनी पुर्जामा पोखरी उल्लेख
    – केशरशमशेरकी बुहारी अम्बिका राणाको सक्रियतामा २०३९ सालमा मोही दर्ता
    – २०४२ सालको फिल्डबुकमा पनि पोखरी उल्लेख
    – २०३९ सालमा नक्कली मोही बनाएर कित्ताकाट भएको जग्गा बिना पौड्याल र सुधा पौड्यालका नाममा राजीनामा पास
    – २०३९ सालमै अम्बिका राणाले भाइ शंकरप्रसाद शाहको नाममा पास
    – तीनपटक भन्दा बढी पास गरेपछि जग्गा व्यक्तिको नाममा कायम गर्न प्रपञ्च रचियो
    – २०४४ सालमा तत्कालीन श्री ५ को सरकारका नाममा जग्गा आएको
    – २०४७ सालमा गुठी लगत तथा तहसिल कार्यालयले रैतानी गरियो
    – गुठी संस्थानले राजगुठीको जग्गा व्यक्तिको नाममा रैतान गरेको भन्दै निर्णय सच्याएर रैतानी रद्द गरी पुरानै अवस्थामा फर्कायो
    – अम्बिका राणा अदालत गएपछि अदालतबाट रैतानीको पुरानो निर्णय सदर
    – २०६२ सालमा गुठियार र राणाबीच विवादास्पद सम्झौता भई गुठीको सबै पर्व परम्परा सञ्चालन गर्न १ करोड ५० लाख रुपैयाँ दिने र गुठियारले हकदाबी छाड्ने विवादास्पद सहमति
    – २०६३ सालमा सुरेशाय हाउजिङलाई जग्गा बिक्री
    – २०६४ सालमा सुरेशायले कित्ता नम्बर २४१२ र शंकर शाहले कित्ता नम्बर १६१६ र १६१८ को विवादास्पद जग्गा प्रतिमा पाँडेलाई बिक्री गरेको मालपोत कार्यालयको रेकर्डमा उल्लेख
    – पाँडेको नाममा जग्गा पुगेपछि १७ माघ २०६४ मा छायादेवी कम्प्लेक्स प्रालिका नाममा पास गरेर छाया कम्प्लेक्स निर्माण


    १९६५ सालमा गरुड भगवान् गुठीले कमलपोखरी र डिलसमेत गरी २६ रोपनी चानचुन पोता (कर) तिरेको रसिद


    प्रतिक्रिया दिनुहोस