शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सत्तारूढ दलहरूले मागे संसद्‌मा उपसभामुख रानाको राजीनामा


    हुलाक प्रेस

    • मंगलबार, भदौ २५ २०८१०२:२१
    सत्तारूढ दलहरूले मागे संसद्‌मा उपसभामुख रानाको राजीनामा

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तारूढ दलका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् । 

    मंगलबार प्रतिनिधि सभाको बैठकका शून्य समयमा बोल्दै उनीहरूले नैतिक प्रश्न उठेको व्यक्ति संवैधानिक पदमा रहन नहुने बताएका हुन् ।

    सांसद सरस्वती सुब्बाले आफूमाथि उठेको प्रश्नमा छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरिन् । “छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई अनुरोध गर्दुछ,” उनले भनिन् ।
     
    त्यस्तै एमालेका सांसद सूर्यप्रसाद ढकालले उपसभामुखको विषयमा उठेको प्रश्न गम्भीर रहेको बताए ।

    ‘सदनभित्र र बाहिर उपसभामुखको कुरा उठिरहेको छ । नैतिकताको कुरा उठेको छ । पदीय मर्यादाको कुरा उठेको छ । मानव तस्करीसाग सम्बन्धित कुरा उठेको छ । उपसभामुख जस्तो व्यक्तिको बारेमा प्रश्न उठ्दा उपसभामुखले मार्ग प्रशस्त गर्न अथवा राजीनामा गर्नका निम्ति म जोडदार माग गर्दछु’ उनले भने ।

    त्यस्तै, सहराज अहमद फारुकीले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरे ।

    सांसद शोभा ज्ञवालीले उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रले मानव तस्करीको काम भएको आरोप पनि लगाइन् । 

    “उहाँले गरेको काम मानव तस्करी होइन र रु अन्य व्यक्तिका कुरा जोडसँग उठाउनुहुन्छ । आफ्ना व्यक्तिको उठाउँदा आक्रोशित हुनुहुन्छ,” उनले भनिन् ।

    उपसभामुख रानाले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा सहभागी हुन भिसाको अन्तर्वाताको मिति मिलाइदिन अमेरकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

    सो पत्र सार्वजनिक भएलगतै उनको सदन र बाहिर चर्को आलोचना भएको थियो । अहिले सोही प्रकरणमा सत्तारूढ दलले महाभियोगको तयारी गरेको चर्चा भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस