काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सोचेको भए गलत हुने बताएका छन् ।
मंगलबार साँझ बालुवाटारमा ओलीसँग भएको भेटमा आफूले उपसभामुखलाई हटाउने कदम घातक हुने बताएको उनको भनाइ छ ।
सचिवालय बैठकपछि सभापति लामिछानले जे गर्दै हुनुहुन्छ यो अत्यन्त गलत हुने भनेर ओलीलाई बताएको जानकारी दिएका हुन् ।
बैठकपछि उनले भने, “गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । सरकारका प्राथमिकता धेरै छन् । दुई तिहाइ शक्ति कहाँ प्रयोग गर्ने भन्ने कुरा पक्कै बुझ्नुहुन्छ होला,” उनले सुनाए, “यदि हो, सत्य हो भने जे सोचिरहनुभएको छ । यो गलत छ, घातक हुन्छ भनेर बताएँ ।”
सोमबार साँझ बसेको सत्तारूढ दलको बैठकमा उपसभामुख इन्दिरा रानाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय भएको थियो । उपसभामुख रानाले अमेरिकी भिसाको मिति अगाडि सारिदिन आग्रह गर्दै पत्र लेखेपछि विवादमा परेकी थिइन् । उनको यस कार्यको चातर्फी विरोध भएको थियो । सदनमा पनि उनको राजीनामाको माग गरिएको थियो ।