शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , भदौ २७ २०८१०३:४१
    कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ

    काठमाडौं । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

    आरुघाट गाउँपलिका–६ का २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

    “सुरजकी जेठी श्रीमती रीता गुरुङले यही भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको जाहेरी दर्ता गर्नुभएको थियो,” उनले भने, “लगत्तै विदेश जान लागेको थाहा पाएपछि अध्यागमन कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँग आवश्यक समन्वय गरी अनुसन्धानका लागि उहाँलाई पक्राउ गरिएको हो ।”

    कसुरबाट भाग्न सुरज वैदेशिक रोजगारीका निम्ति कतार जान लागेको भन्ने प्रहरीले सूचना पाएपछि आवश्यक समन्वय गरी विमानस्थलबाट पक्राउ गरिएको उनले बताए ।

    सुरजकी जेठी श्रीमती रीताले आफू हुँदाहुँदै श्रीमान्‌ले कान्छी घताने गुरुङसँग विवाह गरेको भन्दै प्रहरीमा बहुविवाहको जाहेरी दिएकी थिइन् ।

    “उजुरी परेपछि गत सोमबार जिल्ला अदालत कार्यालयबाट पक्राउका लागि अनुमति लिएर सोही दिन पक्राउ गरी गोरखा ल्याइएको हो,” श्रेष्ठले भने ।

    निजलाई आज अदालतबाट अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान सुरु गरिने उनले जानकारी दिए । रासस

     


    प्रतिक्रिया दिनुहोस